नवौँ एनआरएनए विश्व सम्मेलनको यस्तो छ तयारी - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

नवौँ एनआरएनए विश्व सम्मेलनको यस्तो छ तयारी



काठमाडौं- ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ मूल विषयमा आधारित भएर यस वर्षको नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तरराष्ट्रिय महाधिवेशन यही असोजको २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा आयोजना गरिने भएको छ ।

यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैँ नेपाल सरकार नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घको संयुक्त आयोजनामा हुन गइरहेको छ । उक्त सम्मेलन आयोजनाका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समितिको गठन भइसकेको छ । यस आयोजक समितिमा नेपाल सरकारका प्रतिनिधि र सरोकारवाला सङ्घसंस्थाका अध्यक्ष रहेका छन् ।

सङ्घको आन्तरिक आयोजक समिति सङ्घका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको छ । सम्मेलन तथा महाधिवेशनसम्बन्धी तयारीका काम तदारुकताका साथ अघि बढी रहेका छन् । सम्मेलनको मूल विषय ‘म, मेरो एनआरएन ए र मेरो नेपाल’ मा आधारित भएर विभिन्न शत्रको आयोजना गरिने गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद्का प्रवक्ता भुषण घिमिरेले राससलाई जानकारी दिए ।

यसै सन्दर्भमा अफ्रिका, अमेरिका, एशिया प्रशान्त, युरोप, मध्यपूर्व र ओसेनिया क्षेत्रमा रहेका एनसिसीको महाधिवेशन सम्पन्न भई अन्तरराष्ट्रिय महाधिवेशन मतदान अधिकारसहितका प्रतिनिधि चयनको कार्य भइरहेका छन् । अन्तरराष्ट्रिय समन्वय परिषद्ले प्रतिनिधिको नामावली जसमा कूल मतदाताको सङ्ख्यामा २० प्रतिशत थप गरी यही ३० सेप्टेम्बरसम्म सचिवालयमा उपलब्ध गराउनुपर्ने गरी निर्णय गरेको छ र उक्त निर्णय राष्ट्रिय समन्वय परिषद्लाई गराइसकिएको छ ।

यसपछि एनसिसीले पठाएका प्रतिनिधिको नामावलीलाई अन्तिम रुप दिई मतदाताको नामावली प्रकशित गरिने भएको छ । त्यसपछि निर्वाचनको औपचारिक प्रक्रिया (मनोनयन, मनोनयनमाथि दाबी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान र मतगणना गरिने छ । यी सम्पूर्ण प्रक्रिया १७ अक्टोबरभित्र पूरा हुने जनाइएको छ ।