संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराइने - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराइने



यूएई – नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाली झण्डा संसारकै अग्लो भवन बुर्ज खालिफामा फहराइने भएको छ ।

यूएईको स्थानीय समयानुसार शुक्रबार साँझ ९ः१० ( १० बजेर ५५ मिनेट नेपाली समय) मा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवनमा पहिलो पटक फहराउन लागेको नेपाली दूतावास आबुधाबीले जनाएको छ ।

संसारको अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा फहराउँदा नेपाली पहिचान, नेपालले तय गरेको पर्यटन वर्ष २०२० लाई समेत सहयोग पुग्ने बुझाइ धेरैको छ ।‘लामो समयको प्रयास र मेहनतले यूएई सरकारले बुर्ज खालिफामा १ मिनेटका लागि झण्डा फहराइन लागेको हो’, यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए ।

बुर्ज खालिफा भवनमा संसारका अन्य देशको स्वतन्त्रता दिवस तथा अन्य विशेष अवसरमा ती देशका झण्डा फहराइने गरिन्थ्यो । यसपालि पहिलो पटक नेपालको झण्डा फहराइने कुराले यूएईमा कार्यरत धेरै नेपाली हर्षित छन् ।नेपाली झण्डा फहराइने खबर आजै मात्र थाहा पाएका धेरै नेपालीहरु झण्डा फहराइने समय बुर्ज खालिफामा पुगेर खुशी मनाउने तयारी गरेका छन् । आज शुक्रबार स्थानीय सार्वजनिक बिदा भएकोले पनि धेरै नेपाली त्यहाँ पुग्ने अनुमान गरिएको छ ।

यसैबीच नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा बिहीबार दूतावासमा समेत झण्डोत्तलन तथा दीप प्रज्ज्वलन गरिएको थियो । आज शुक्रबार यूएईमा रहेका नेपाली संघसस्थाको उपस्थितिमा दूतावासमै कार्यक्रमसमेत गरिँदै छ ।

त्यस्तै आउँदो आइतबार दूतावासकै आयोजनामा बोब अल क्युसार होटेलको सभा हलमा १ सय २० भन्दा धेरै देशका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम गरिने दूतावासकी सूचना अधिकारी बिष्णुकुमारी अधिकारीले बताइन् ।