मन्त्री भट्टराई भन्छन: यस्ता गतिविधि तत्काल रोक्नुपर्छ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

मन्त्री भट्टराई भन्छन: यस्ता गतिविधि तत्काल रोक्नुपर्छ



काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने उच्छृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानको ३४औं प्राज्ञ सभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने यस्ता खालका उछृङखल गतिविधि रोक्ने गरी नयाँ पिँढीलाई दीक्षित गर्न पनि प्राज्ञहरुलाई आग्रह गरेका हुन्।

उनले समाजमा हुने अराजकता र उच्छृङ्खल खालका गतिविधिले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा निम्त्याउने हुनाले त्यस्ता खालका गतिविधि हुन नदिने गरी प्राज्ञहरुले भाषा र संस्कृतिको माध्यमबाट नयाँ पिँढीलाई दीक्षित गर्नुपर्ने पनि स्पष्ट पारे।

उनको संकेत केही दिनअघि बुद्ध एयरमा काठमाडौं आउनेक्रममा आफ्नो कारणले जहाज उड्न ढिलाइ हुँदा साेही विमानका यात्रुले गरेको विरोधतर्फ केन्द्रित थियो। ‘अराजकताले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा हुने गर्दछ’, मन्त्री भट्टराईले भने, ‘त्यस्ता खालका कोशिसहरु हुनै नदिन नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुले नयाँ पिँडीलाई प्रशिक्षित गर्नुपर्दछ।’

मन्त्री भट्टराईले नेपालको संस्कृति र सभ्यता तथा पूर्वीय सभ्यताले सामाजिक एकतामा जोड दिएको पनि स्मरण गराए। उनले विविधतायुक्त मुलुकलाई अघि बढाउन सुदृढ राष्ट्रिय एकताको आवश्यक्तामा पनि जोड दिए।