बालुवाटारमा देउवासहित शिर्ष नेताको ३ घण्टा छलफल: प्रधानमन्त्रीसँग भयो सम्झौता - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

बालुवाटारमा देउवासहित शिर्ष नेताको ३ घण्टा छलफल: प्रधानमन्त्रीसँग भयो सम्झौता



काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतासँग प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भेटवार्ता गरेका छन्।

आइतबार साँझ करिब तीन घण्टा भएको छलफलमा सभापति देउवा, पौडेलसहति नेताहरू कृष्णप्रसाद सिटौला, शशांक कोइराला, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, सीतादेवी यादव, विश्वप्रकाश शर्मालगायत पुगेका थिए।

भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले अब विधेयक ल्याउँदा दलहरुबीच छलफल गर्ने प्रतिवद्धता जनाएका छन्। पार्टी एकताको चटारोले गर्दा दलहरूबीच भेटघाट हुन नसकेको ओलीले बताएका थिए।

छलफलमा नेताहरूबीच गणतन्त्र खतरामा रहेको समेत छलफल भएको स्रोतले जनाएको छ। आफैले ल्याएको व्यबस्था खतरामा परेकोले अब ठुला दल मिलेर अगाडी बढ्ने र सरकारका हरेक कार्यको बिपक्षी काङ्ग्रेससंग समझदारी गरेर अगाडी बढ्ने सहमती समेत भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्रीसमक्ष सभापति देउवाले भने, ‘यसले सबै राजनीतिक दललाई नकारात्मक प्रभाव पार्छ। व्यवस्थामाथि पनि खतरा पैदा गर्छ।’ सर्वसाधारण र प्रेसका अधिकार कुण्ठित गर्ने गरी विधेयक ल्याइएकामा उनले सरकारको कडा आलोचना गरेका थिए। भूमि, मिडिया काउन्सि, सूचना प्रविधि, मानव अधिकारलगायत विधेयक संविधानको मर्मअनुसार नभएको उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले बाँके घटनामा संलग्न जो कोही भए पनि कारबाही गर्ने प्रतिबद्धता समेत जनाएका छन । यस्तै ओलीले देउवासंग सदनका गतिविधि सुचारु गर्न आग्रह समेत गरेका छन् ।

कांग्रेस नेताहरूले सरकारले ल्याएका कतिपय विधेयक संघीय गणतन्त्रको मर्मविपरीत भएको भन्दै सच्याउन माग गरेका थिए। देशमा शान्ति सुरक्षा खस्किँदै गएको प्रसंग पनि उठाए। नेताहरूले सत्तापक्षले जनतामा निराशा जगाउने काम मात्रै गरेको आरोप समेत लगाएका थिए।