बिना मगर फेरी विवादमा: ससुराको घरबेटीलाई मेलम्चीको ठेक्का
काठमाडौं- पछिल्लो समय विदेशी कम्पनीले काम गर्न नसक्ने भन्दै मेलम्ची आयोजनाको काम छाडेर भागेपछि बिबादमा तानिएकी खानेपानी मन्त्री बिना मगर फेरी विवादमा तानिने देखिएको छ ।
लामो इतिहास बकेको, दसकौं सम्मको चर्चा बोकेको मेलम्ची खानेपानी आयोजना फेरी बिबादमा फस्ने देखिएको छ।केहि समय अघि मात्रै विदेशी कम्पनीले अधुरै छाडेको यो आयोजनाको ठेक्का विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पाएको छ।
ठेकेदार अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी समेत हुन् र हाल खानेपानी मन्त्रालय प्रचण्डकै बुहारी बिना मगरले सम्हालेकी छन्।
शैलुङ कन्स्ट्रक्सनले मेलम्ची खानेपानी आयोजनाको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणको ठेक्का परेको हो। यो आयोजनाको लागि कम्पनीले डेढ अर्ब रुपैयाँको नयाँ ठेक्का पाएको छ।
एक अर्ब ४१ करोड ६९ लाख २२ हजार ७६० रुपैयाँमा आयोजना निर्देशनालय कार्यालयले शैलुङ कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको छ। सबैभन्दा कम रकम कबोलेका कारण शैलुङसँग मेलम्चीको पाइपलाइन विस्तारको काममा सम्झौता गरिएको निर्देशनालयका सूचना अधिकारीले बताएका छन् ।
बिना मगर खानेपानी मन्त्री भएकै बखत उनका ससुरा नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार अधिकारीले मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएका हुन्। मन्त्री मगर आफैं पनि अहिले खुमलटारस्थित सोही घरमा बस्छिन्।
३० महिनाभित्र काम सक्ने गरी शैलुङसँग चार महिनाअघि निर्देशनालयले सम्झौता गरेको छ। गृह मन्त्रालयका अनुसार शैलुङ निर्माण क्षेत्रमा ‘बदमासी’ गर्ने ‘क’ वर्गको ठेकेदार कम्पनी हो। गृहमन्त्री रामबहादुर थापाले गत वर्ष ‘बदमासी’ गर्ने निर्माण कम्पनीको नाम सार्वजनिक गर्दा अधिकारीको शैलुङ पनि थियो।
शैलुङ पनि निकै विवादित कम्पनी हो, जसले ठेक्काका धेरै काम पूरा गरेको छैन।निर्माण क्षेत्रमा समयमा काम नगर्ने सरकारी सूचीमा शैलुङ छ। सरकारले चाहे पप्पुलाई जस्तै ठेक्का खोसेर वा कालोसूचीमा राखेर शैलुङलाई कारबाही गर्न सक्छ। तर, अधिकारीसँग नेकपा अध्यक्ष दाहाल नै जोडिएपछि राज्य निकायहरू शैलुङसँग डराउँछन्।
शैलुङले लामो सम्झौताको म्याद वर्षौं नाघेपछि त्रिपुरेश्वर-कलंकी-नागढुंगा ९.१ किलोमिटर सडक ठेक्का पूरा गर्ने चरणमा छ। यो योजनाको लागि एक वर्षे सम्झौता भए बमोजिम २०७२ असार मसान्तमा शैलुङले ठेक्का पाएकोमा तीन वर्ष ढिलो गरी काम सकौना लागेको छ।
यस्तै भक्तपुर-नगरकोट साढे १५ किलोमिटर कालोपत्रे सडक शैलुङ र एक भारतीय कम्पनीले हालसम्म पुरा नगरेको पाइएको छ। यसको सम्झौता २०६९/७० मा भएको हो। यो आयोजनाको म्याद ०७२/७३ भित्र निर्माण सम्पन्न गरिसक्ने थियो।
यसबाहेक पनि दर्जनौं आयोजनाहरू यो कम्पनीले अलपत्र पारेको खुलेको छ।
अर्को गहकिलो कुरा त के छ भने शैलुङ आफैमा स्रोतसाधन कमजोर क्षमता भएको कम्पनि हो। यसैकारण यो कम्पनीले लिएका सबै जसो आयोजनामा ज्वाइन्ट भेन्चर कम्पनि राख्ने गरेको छ।
यस्तो विवादित कम्पनीलाई यो आयोजनाको काम दिँदा एकातिर समयमा काम नसकिने आशंका छंदैछ भने अर्कोतिर मेलम्ची आयोजना र खानेपानी मन्त्रालयको गुमेको शाख अझै डुब्ने देखिन्छ।