सर्वोच्च अदालतले भन्यो एमबिबिएसको परीक्षा रोक्नु - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सर्वोच्च अदालतले भन्यो एमबिबिएसको परीक्षा रोक्नु



काठमाडौं : सर्वोच्च अदालतले शनिबार हुन लागेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थानको एमबिबिएसको प्रवेश परीक्षा स्थगित गर्न आदेश दिएको छ। आयुष ओझासमेतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध दिएको उत्प्रेषणको रिटमा सुनवाई गर्दै शुक्रबार सर्वोच्चले सो अन्तरिम आदेश दिएको हो।

सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले दुवै पक्षलाई राखी छलफल गर्नुपर्ने भएकाले प्रत्यर्थीलाई २५ भदौमा छलफलका लागि बोलाएको छ। आइओएमा र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ २१, २२ र २३ गते एमबिबिएसको प्रवेश परीक्षा तोकिएको थियो। प्रवेश परीक्षा नियमसंगत नभएको भन्दै विद्यार्थीले सर्वोच्चमा रिट दायर गरेका थिए। विद्यार्थीले माग पूरा नभएसम्म एमबिबिएस, बिडिएस, नर्सिङलगायतका मेडिकल शिक्षाका नयाँ भर्नाका लागि प्रवेश परीक्षा हुन नदिने बताएका छन्।

समितिले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा भएअनुसारको ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था हुनुपर्ने, साझा प्रवेश परीक्षा हुनुपर्नेलगायत ८ सूत्रीय माग राखेका छन्। काठमाडौं विश्वविद्यालय, बिपि कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन कार्यालयमा समेत उनीहरूले तालाबन्दी गरेका छन्।