कविता- बालक - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

कविता- बालक



-सुना खनाल

ठुलो सहर अनि सानो सपना
सपनासँगै कुँजिने ती हातहरू
सपनाको धरातलमा उभिएर
पछाडि फर्किदा छुटेका ती साथहरू

सायद आज देखेँ,
ठुलो टेबलमा जुठो कपहरू राख्दैगर्दा
कसैका अबोध नजरमा ती जुठा कप परे
उसैकै हात जुरमुराउँदै
त्यही जुठा कपमा झरे।

ताराकाजी लैलै भन्दै घोकाउँदै
आएको एउटा ग्राहक देखा पर्‍यो
हेर्दै थुक निल्दै ऊ
खिन्नताको भर्ङ्यागबाट झर्‍यो।

एक असन्तुष्ट नजरले सन्तुष्टि नियाल्दै गर्दा ,
त्यो जग अनि त्यो धरातल
ऊ आफूसँगै खस्किएको पायो
कप जुरुक्क उचाल्दैगर्दा कँप कँप
काँपिरहेका ओठले पनि रिक्तताको गीत गायो।

थाहा छैन कि त्यो अबोध मन
अब कहिले मुस्कुराउँछ ,
मनभरि भरिएका पीडाका पहाड
कुन चौतारीमा बिसाउँछ।

उसको दैनिकी त्यो चियाको कप
उठाउँदै मात्र होइन
ऊ हरेक दिन मनको खलनामा
हजारौँ पटक जुठा भएका हात धस्काउँछ
दिनहुँ जाँड खाने बाऊ, बिरामी आमा
र बहिनीको प्रेमले झस्काउँछ ।
अतीत मात्र होइन वर्तमानको पीडाले
ऊ ठुला ठुला पराँत र कराइ मस्काउँछ।

साधारण मानिस त जन्मेपछि अनेक
सुख सुविधासँग हुर्किन्छन्
ऊ त बुढा भएका बाआमालाई आफ्नो
परिश्रमले हुर्काउँछ।
आफ्नै हातले खुट्टालाई अनि खुट्टाले हातलाई
परिश्रम गर्न फुर्काउँछ।

अब त ऊ निपुण भइसकेछ क्यार
देब्रे लाई दाहिने अनि दाहिनेलाई देब्रेले
थपथपाउँदै भन्छ
“एक हात बा अर्को हात आमा ,
म संसारकै धनी बालक”।