मन्त्री बिना मगर तनावमा
काठमाडौं- खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरलाई अर्को तनाव आइलागेको छ ।राजनीतिमा नै चुनौति बनिरहेको मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुने हल्ला गर्दै हिँडेकी मन्त्री मगरको निर्देशनमा इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको सम्झौता रद्द भएको थियो ।
त्यसपछि काम सम्पन्न गर्न तयार भएको चिनियाँ कम्पनी सिनो हाइड्रोले सम्झौता अघि नै सुरक्षा माग गरेको छ । सीएमसीसँगको सम्झौता रद्द गर्दा र नयाँ ठेक्का लगाउँदा मन्त्री र उनका आसेपासेलाई केही कमिशन आउन सक्ने भए पनि त्यसमा अबरोध बनिदिएका छन्, पेटी ठेकेदारहरू जसलाई सीएमसीले करोडौं भुक्तानी गर्न बाँकी छ । त्यस्ता पेटी ठेकेदारको रकम भुक्तानीमा मन्त्री मगरले कुनै चासो नदेखाई मनोपोली गरेपछि सिनो हाइड्रोलाई काम गर्न नदिने मुडमा तत्कालिन पेटी ठेकेदार पुगेका छन् ।
‘मेलम्चीको काममा सरकार, सम्बन्धित मन्त्रालयले हामीलाई अलपत्र पारेको छ । हाम्रो रकमको सुरक्षा भन्दा पनि कमिशनको चक्कर ज्यादा भयो त्यसैले हामी काम रोक्न बाध्य हुनेछौं’, ४३ वटा पेटी ठेकेदार कम्पनी मध्येका एकका सञ्चालक भन्छन्,‘हामीले बारम्बार यस विषयमा मन्त्रालयमा ध्यानाकर्ष गरेका थियौं, पत्रकार सम्मेलन पनि गरेका थियौं । तर मन्त्रीको मनोपोली बढी भयो ।’
श्रमिक, सप्लायर्स र स्थानीय ठेकेदारले आफ्नो रकम भुक्तानी नदिएसम्म काम अघि बढाउन नदिने पक्षमा उभिएका छन् । यतिमात्र होइन, मन्त्री मगर जति जोडबल गरेर लागे पनि यसको अवरोध गर्ने त जिल्ला प्रशासन कार्यालयलाई पहिला नै जानकारी आइसकेको रहेछ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीसमक्ष पनि स्थानीय ठेकेदारले भुक्तानी नदिएसम्म काम गर्न नदिने भन्दै निवेदन दिएको छ ।
सीएमसीसँग काम गरेका १ हजार २ सयभन्दा बढीले भुक्तानी माग्दै आवेदन दिएका छन् । तर मेलम्ची खानेपानी अयोजनाका प्रमुख सूर्यप्रसाद कँडेलले नियमअनुसार भुक्तानी दिन नमिल्ने बताएको विवरण बाहिर आएको छ । भुक्तानी नदिएर सीएमसीलाई भाग्ने बाटो खोलिदिने र साना कामदारदेखि ठेकेदारलाई लोप्पा खुवाउने मन्त्री मगरको योजना तुहिन सक्ने त निवेदनहरूले नै पुष्टि गरिसकेको छ ।
स्थानीय ठेकेदार, सप्लायर्स र श्रमिकले १ अर्ब ६० करोडभन्दा बढी रूपैयाँ भुक्तानी बाँकी छ । यत्रो रकम भुक्तानी नदिई मन्त्री मगरले मेलम्ची ल्याउने बाहना मात्र अघि सारेकी छैनन्, मेलम्चीलाई अझ सपनामा नै धकेलिदिएको सर्वसाधारणको आरोप छ ।
डेढ महिनाको कामलाई अढाई बर्षसम्म लम्ब्याउन पनि मन्त्री मगरको भूमिका देखियो । सीएमसीसँग लफडा नभएको भए कम्तिमा डेढ महिनामा उसको सम्झौताअनुसार मेलम्चीको पानी काठमाडौं आउने थियो । अब, प्रक्रियाका हिसाबले जाँदा सुरुङको बाँकी काम र अम्बाथानमा हेडवक्र्स निर्माण सिनो हाइड्रोले गर्ने सम्झौतापत्र तयार भएको छ । १२ महिनाभित्र सुरुङ र १५ महिनाभित्र हेडवक्र्स निर्माण गरिसक्ने समयसीमा दिइएको छ ।