पद्मश्री साहित्य पुरस्कार तथा पद्मश्री साधना सम्मान - २०७५ घोषणा - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

पद्मश्री साहित्य पुरस्कार तथा पद्मश्री साधना सम्मान – २०७५ घोषणा



२०७५ सालका लागि पद्मश्री साहित्य पुरस्कार रमेश सायनलाई उनको कृति ‘छुटेका अनुहार’लाई प्रदान गरिने भएको छ। त्यस्तै पद्मश्री साधना सम्मान पूराविद्, इतिहासविद् तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई प्रदान गरिने भएको छ। खेलमकला हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले हिजो एक विज्ञप्ति जारी गर्दै सो घोषणा गरेका छन्।

पद्मश्री साहित्य पुरस्कार तथा पद्मश्री साधना सम्मान २०७५ घोषणा ।

—————————–

मितिः २०७६।०५।१०

प्रेस विज्ञप्ति

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा वर्ष २०७५ सालको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई अर्पण गर्ने निर्णय गरिएको छ ।

छुटेका अनुहारमा लेखक रमेश सायनले आफैँले भेटेर छुटेका केही अनुहार र तिनको मनोवृत्तिको सूक्ष्म चित्रण अनुभूतिको गहिराइसम्म पुगेर कलात्मक शैलीमा पस्तुत गरेका छन् ।

त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान पाँच दशकदेखि नेपाली इतिहास र संस्कृतिलाई लिपिवद्ध तथा जर्गेना गर्दै आएका पूराविद्, इतिहासविद् तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई अर्पण गर्ने निर्णय गरिएको छ ।

दुईसय भन्दा बढी शोधलेखका साथसाथै ६ वटा पुस्तक प्रकाशित गरेका महेशराज पन्त नेपाली भाषा, संस्कृति, इतिहासका अन्वेषक हुन् । २००९ सालमा पिता नयराज पन्तले सुरु गरेको संशोधन मण्डलका अभियन्ता महेशराज पन्तले २०२१ सालदेखि इतिहास प्रधान पूर्णिमा प्रकाशन गरिरहेका छन् । प्रामाणिक अनुसन्धान तथा त्यसलाई नेपाली वाङ्मयमा स्थापित गरेका महेशराज पन्तको योगदानलाई कदर गर्दै २०७५ सालको पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको छ ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रु. दुई लाख रुपैँया रहेको छ ।

वि.स. २०६३ सालदेखि खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएकोको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

त्यस्तै वि.सं.२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

दुवै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिनेछ ।

जीवा लामिछाने

अध्यक्ष, खेमलाल हरिकला लामिछाने प्रतिष्ठान

रत्ननगर, चितवन