अब मोदी सरकारको मिशन माओवादी - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

अब मोदी सरकारको मिशन माओवादी



नयाँ दिल्ली। भारत प्रशासित जम्मू कश्मीरका बारेमा हालै ऐतिहासिक कदम चालेको भारतले आफ्ना विभिन्न राज्यमा सक्रिय माओवादी गतिविधि नियन्त्रणलाई अर्को प्राथमिकताको सूचीमा राखेको छ ।

सोमबार केन्द्र सरकारका गृहमन्त्री अमित शाहले माओवादी प्रभावित राज्यका मुख्यमन्त्रीहरु र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । संविधानमै कश्मीरलाई दिइँदै आइएको ‘विशेष दर्जा’ खारेजको प्रस्ताव संसदमा पेश गरेर चर्चामा आएका गृह मन्त्री शाहले माओवादी गतिविधिबारे पहिलो पटक विशेष बैठक राखेर छलफल गरेका हुन् ।

एक तथ्यांकअनुसार जम्मु कश्मीरमा सन् २०१४ देखि २०१८ सम्म हिंसात्मक गतिविधिमा एक हजार तीन सय १५ जनाको मृत्यु भएको छ । सो अवधिमा माओवादी हिंसाका कारण मृत्यु हुनेहरुको संख्या त्योभन्दा बढी पाइएको छ । उक्त अवधिमा माओवादी हिंसाका कारण दुई हजार ५६ जनाको मृत्यु भएको छ ।

मानवीय क्षतिका हिसाबले कश्मीर समस्याभन्दा पनि भयावह बनेको माओवादी गतिविधिलाई केन्द्र सरकारले नियन्त्रणमा लिने तयारी स्वरुप विभिन्न राज्यका मुख्यमन्त्री र सुरक्षा निकायका उच्च अधिकारीसँग छलफल गरेको बताइएको छ ।

बैठकको निश्कर्षका बारेमा केही खुलाइएको छैन । तर बैठकमा सहभागी स्रोतलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले जनाएअनुसार माओवाद प्रभावित क्षेत्रमा छापामार युद्धलाई कसरी नियन्त्रणमा लिने र त्यहाँका जनतामा विकासको प्रतिफल कसरी पुर्‍याउने भन्ने विषयमा छलफल केन्द्रित थियो । (एजेन्सी)