आईजीपी खनालले रविलाई भने असुरक्षित महसुस भएमा मलाई खबर गर्नुस्

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पत्रकार शालीकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेर थुनामा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई भेटेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेलाई खनालले शुक्रबार भेटेका हुन् । खनाल जिल्ला प्रहरी कार्यालयको निरीक्षण भ्रमणका सिलसिलामा त्यहाँ पुगेका थिए । त्यस क्रममा खनालले अनुसन्धान प्रक्रियामा अवरोध नगर्न र सहयोग गर्न रविलाई आग्रह गरेका थिए ।
खनालले लामिछानेलाई असुरक्षित महसुस भएको कारणसमेत जानकारी गराउन आग्रह गरेका थिए । सोक्रममा आइजी खनालले अर्का पत्रकार युवराज कँडेललाई पनि भेटेका थिए।रविका समर्थकले अनुसन्धान नगर्न दबाब दिँदै नियमितजसो प्रदर्शन, प्रहरी कार्यालयमा ढुंगामुढा र प्रहरीको गाडीमा आक्रमणजस्ता गतिविधि गर्दै आएका छन् । महानिरीक्षक खनालले त्यसैतर्फ संकेत गर्दै अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको प्रहरीका एक अधिकारीले जानकारी दिए ।
जवाफमा रविले आफू प्रहरी अनुसन्धानलाई सहयोग गर्दै आफ्ना नाममा कसैले स्वार्थको रोटी सेक्न खोजेको भए त्यसमा सहमत हुन नसक्ने बताएका थिए । ‘मेरो घटनामा कुनै पनि किसिमको संलग्नता छैन । मैले पक्राउ पर्नुअघि र पछि पनि प्रहरी अनुसन्धानलाई सहयोग गर्छु भनेको छु र गर्दै पनि आएको छु’, लामिछानेको भने, ‘मेरो नाममा आ–आफ्ना स्वार्थको रोटी सेक्न कसैले खोजेको भए त्यसो नगरे हुन्छ ।’
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लका अनुसार रविले आफ्नो रिहाइका लागि आवाज उठाउनेहरुलाई धन्यवाद दिए पनि त्यसका नाममा हुलहुज्जत गर्ने, अराजक गतिविधि गर्ने र अनुसन्धान प्रभावित पार्न खोज्ने कामप्रति आफ्नो समर्थन नरहेको स्पष्ट गरे ।

