कम्युनिस्ट नेताहरु राजा महाराजा बने जनताले लेखट्छन् :प्रचण्ड - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कम्युनिस्ट नेताहरु राजा महाराजा बने जनताले लेखट्छन् :प्रचण्ड



काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिस्ट नेताहरुको जीवनशैलीमा आएको परिवर्तनका लागि जनताको अपेक्षा पूरा नहुने गरेको बताएका छन् ।

सत्तामा पुगेपछि संघर्ष विर्सिने प्रवृतिका कारण कम्युनिस्ट आन्दोलन नै धरापमा परेको पनि प्रचण्डको भनाइ छ ।

सोमबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रोग्रेसिभ इन्जिनियरङ्ग एसोसिएसनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट नेताहरु राजा महाराजा बने जनताले लेखट्ने पनि चेतावनी दिएका छन् ।

‘जनताको लागि संघर्ष गरेका कम्युनिस्ट नेताहरु सत्तामा पुगेपछि राजमहाराजा बनेपछि जनताले लखेटेको उदाहरण विश्वमा देख्न पाइन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो यहाँ पनि कता कता त्यस्तै लक्षण देखिँदै गएको छ ।’

कम्युनिस्ट नेताहरु सत्तामा पुगेपछि बुर्जुवाकरण हुँदै जाने गरेको पनि प्रचण्डले चिन्ता व्यक्त गरे । ‘कम्युनिस्टहरुमा विश्वव्यापीरुपमा देखा परेको समस्या के छ भने सत्तामा नपुगेसम्म समाजको निम्ति, जनताको निम्ति, दर्शनको निम्ति माक्र्सवादको निम्ति, अध्ययन, चिन्तन, मननको निम्ति धेरै दुःख गर्ने, त्याग, तपस्या गर्ने, त्यहाँसम्म कम्युनिस्टहरुको ठीक छ,’ अध्यक्ष प्रचण्डले भने, ‘सत्तामा पुगेपछि त्यो कुरा विस्तारै विर्सिदै जान्छन् । समाजको, जनताको, राष्ट्रको आवश्यकता के हो, त्यसका निम्ति हामीले गर्नुपर्ने मेहनत के हो, हामीले गर्नुपर्ने निर्णय के हो भन्ने शैलीमा विस्तारै विस्तारै बुर्जुवाकरण हुँदै जान्छ ।’