रहेनन् बलिउड अभिनेता ओम पुरी
हिमाल पोस्ट /पुस २२
बलिउड अभिनेता ओम पुरीको शुक्रबार बिहान ६६ वर्षको उमेरमा निधन भएको छ ।
हृदयघातका कारण उनको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।
सन् १९५० अक्टोबर १८ तारिखमा जन्मिएका उनले सन् १९७६ मा मराठी फिल्मबाट अभिनय सुरु गरेका थिए ।
हलिउडदेखि बलिउडसम्म उनले ३ सयभन्दा बढि फिल्ममा अभिनय गरेका छन् ।
उनी बिरामी भएपनि आफ्नो नयाँ फिल्म ‘रामभजन जिन्दाबाद’ को प्रोमोशनमा जुटिरहेको बताइएको छ ।
ओमपुरीले कमेडीदेखि गम्भीर भूमिकामा अभिनय गरे । ‘आक्रोश, अरोहन, अर्धसत्य, माचिस’ उनका ती फिल्म हुन् जसले हरेक व्यक्तिलाई छोएको थियो । उनले हिन्दीका साथै अंग्रेजी, कन्नडर पञ्जाबी भाषाको फिल्ममा पनि अभिनय गरेका छन् ।
ओमपुरी आवाजका धनी थिए । थुप्रै डकुमेन्ट्री र फिल्ममा उनको आवाज समावेश गरियो । यसै कारण उनले बलिउडमा आफ्नो छुट्टै स्थान बनाउन सफल भएका छन् ।