राष्ट्रियसभामा प्रश्न:आत्महत्या गर्ने व्यक्तिले आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ ? - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

राष्ट्रियसभामा प्रश्न:आत्महत्या गर्ने व्यक्तिले आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ ?



काठमाडौं । आत्महत्या गर्ने व्यक्तिले आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ कि पाइँदैन भन्नेबारे राष्ट्रियसभामा प्रश्न उठाइएको छ ।

कांग्रेस सांसद मुक्ताकुमारी यादवले बुधबार राष्ट्रियसभा बैठकमा यस्तो प्रश्न गरेकी हुन् । उनले दिनदिनै आत्महत्याका घटना बढिरहेको भन्दै सरकारलाई यस विषयमा गम्भीर हुन आग्रहसमेत गरिन् । उनले प्रश्न गरिन्, ‘आत्महत्याको कारण के हो, सरकारले पत्ता लगाउनु पर्छ कि पर्दैन ?’

सिंहदरवार परिसरभित्र रहेको राष्ट्रिय योजना आयोगको कार्यालयमा नायव सुब्बा बच्चुराम केसीले विषादी सेवन गरी आत्महत्या गरेको प्रसंग निकाल्दै उनले भनिन्, ‘दिनदिनै किन आत्महत्या भइरहेको छ, पत्ता लगाउने काम सरकारको हो कि होइन ?’

पत्रकार शालिकराम पुडासैनीको मृत्युका बारेमा समेत प्रश्न उठिरहेको भन्दै उनले पुडासैनीको हत्या हो या आत्महत्या भन्नेबारे सत्यतथ्य बाहिर ल्याउन मागसमेत गरिन् । उनले प्रश्न गरिन्, ‘कसैले आरोप लगाउँदैमा थुन्न पाइन्छ कि पाइँदैन ?’

किटानी जाहेरी नपरी रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरिएको भन्दै उनले सोधपुछका लागि उनीहरुलाई बोलाउन सक्ने अवस्था रहँदा रहँदै कार्यालयमै गएर पक्राउ गर्न जरुरी नरहेको बताइन् । आशंका प्रकट गर्दै उनले भनिन्, ‘यो कसैको दबाबमा भएको हो कि ?’