लामिछानेसहित तीनजनालाई थप पाँच दिन हिरासतमा राखिने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

लामिछानेसहित तीनजनालाई थप पाँच दिन हिरासतमा राखिने



काठमाडौं । टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनजनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले अनुमति दिएको छ । बयान नसकिएकाले उनीहरुलाई हिरासतमा राख्न म्याद थपिएको हो ।

यसअघि गत शुक्रबार अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको थियो । प्रहरीले सोही दिन लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो । अनुसन्धानका लागि १० दिनको समय माग गरिएको थियो ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार बेलुका उनीहरु पक्राउ परेका थिए । पुडासैनीले साउन २० गते चितवनमा आत्महत्या गरेका थिए । आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै तीनजनालाई पक्राउ गरिएको थियो ।