कानून हातमा लिन खोज्नेलाई छोडिन्न् :एसपी मल्ल - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कानून हातमा लिन खोज्नेलाई छोडिन्न् :एसपी मल्ल



काठमाडौं–टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई चितवन जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान भैरहँदा त्यहाँका प्रहरी प्रमुखले कानुन अनुसार कारवाहि गर्ने बताएका छन् ।पाँचदिनदेखि प्रहरी हिरासतमा रहेका लामिछाने बयानका लागि अहिले जिल्ला सरकारी वकिलको कार्यालय र म्याद थप लागि जिल्ला अदालतमा लगिएको छ ।

यसक्रममा प्रर्दशन गर्ने, भीड गर्ने र हुलहुज्जत गर्नेहरुलाई कारवाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताएका छन् ।

जिल्लामा अनावश्यक हुलहुज्जत गर्ने र अराजकता प्रदर्शन गर्नेलाई पक्राउ गरेर कानून बमोजिम कारबाही गरिने उनले बताएका हुन । उनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले छानबिन गरिरहेकोले धैर्य गर्न सबैलाई आग्रह गरेका छन् । तर अनुसन्धानलाई प्रभावित पार्न खोज्ने गरी सडकमा अनावश्यक हुलहुज्जत गर्ने छुट कसैलाई नभएको बताउदै कानुन अनुसार सबैले कारवाहीको भोग्नु पर्ने पनि बताए । ‘प्रहरीले कानुन बमोजिम अनुसन्धान गरिरहेको छ, छानबिन होस् भन्नु जायज कुरा हो तर कसैलाई अनुसन्धानका लागि नियन्त्रणमा लिनै नहुने गरी भइरहेका क्रियाकलापहरु उचित छैनन’, एसपी मल्लले भने, ‘कानून हातमा लिन खोज्नेलाई छोडिन्न् ।’

शालिकरामको मृत्यु प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने निर्दोष रहेको र उनको रिहाईको माग राख्दै चितवनमा प्रदर्शन भइरहेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई आज मंगलबार म्याद थपका लागि अदालत लगिएको छ ।

अदालत परिसरका लामिछानेकी श्रीमती निकिता पौडेल पनि पुगेकी छिन् । यसअघि अनुसनधानका लागि जिल्ला अदालत चितवनले पाँच दिनको म्याद दिएको थियो । तर अनुसन्धानका लागि अझै समय आवश्यक भएकोले म्याद थपका लागि तीनै जनालाई अदालत लगिने चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए । अहिले उनीहरुको बयान जारी नै रहेको प्रहरीले जनाएको छ ।