विदेशमा रहेका नेपालीले आफू बसेकै देशबाटै मत दिन पाउनु पर्ने मसालको माग - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

विदेशमा रहेका नेपालीले आफू बसेकै देशबाटै मत दिन पाउनु पर्ने मसालको माग



नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले विदेशमा रहेका नेपालीले आफू बसेकै देशबाट संसदीय निर्वाचनमा मत हाल्न पाउने व्यवस्था गर्न माग गरेको छ।

मंगलबार बसेको नेकपा(मसाल) को केन्द्रीय समिति बैठकले सो विषयका लागि संघर्ष अघि बढाउने निर्णय गरेको महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यमा जनाइएको छ।

भारतबाहेक तेस्रो मुलुकमा वैदेशिक रोजगारीका लागि करिब ४० लाख नेपाली रहेको अनुमान छ। मसालले उनीहरु कार्यरत देशबाटै मत दिन पाउने माग गर्दै आएको छ।

यो सँगै मसालले संघीयता विरुद्धको संघर्षलाई पुनः अगाडि बढाउने निर्णय गरेको महामन्त्री सिंहले जनाएका छन्। नेकपा (मसाल) को हालै सम्पन्न आठौँ महाधिवेशनले संघीयता खारेजीको माग गरेको थियो। गणतन्त्र र धर्मनिरपेक्षताको तथा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि संघर्ष गर्ने वक्तव्यमा उल्लेख छ।

यसैगरी, नागरिकतासम्बन्धी राष्ट्रघाती नीति, भ्रष्टाचार, महङ्गी, कालो बजारीतथा बढ्दो कर वृद्धिका विरुद्ध संघर्ष गर्ने मसालले जनाएको छ।

मसालले कश्मिरमा ३७० नं धाराअन्तर्गत दिइएको विशेष सम्वैधानिक व्यवस्थालाई समाप्त गरेर त्यसलाई केन्द्रशासित प्रदेश बनाउने भारतको सरकारको निर्णयलाई तीव्र शब्दमा विरोध र भ्रत्सर्ना गरेको छ।