गृहमन्त्री ज्यु तपाईको घरपरिवारमा निर्मला पन्तजस्तै घटना भएको भए तपाईंको अभिव्यक्ति के यही हुने थियो ? - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

गृहमन्त्री ज्यु तपाईको घरपरिवारमा निर्मला पन्तजस्तै घटना भएको भए तपाईंको अभिव्यक्ति के यही हुने थियो ?



काठमाडौं । सांसद देवेन्द्रराज कँडेलले ‘निर्मला पन्तजस्ता घटना भइरहन्छ’ भन्ने अभिव्यक्ति गृहमन्त्री रामबहादुर थापाले फिर्ता लिनुपर्ने बताएका छन् । ‘गृहमन्त्रीको घरपरिवारमा चेलीबेटीमाथि निर्मला पन्तजस्तै घटना भएको भए तपाईंको अभिव्यक्ति के यही हुने थियो ?’, प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले भने, ‘उहाले यस अभिव्यक्तिलाई सार्वजनिक रूपमा फिर्ता लिनुपर्छ । गृहमन्त्रीले त्यस्तो बोल्दा नेपालीको शिर निहुँरिदैन ?’

कञ्चनपुरकी बालिका निर्मलाको बलात्कारपछि हत्या भएको एक वर्षसम्म पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । उनले पञ्चायतकालमा पोखरामा दरबारको आडमा बलात्कारपछि हत्या घटना भएको उल्लेख गर्दै कञ्चनपुर घटनामा सिंहदरबारका प्रतिनिधिको पहुँच रहेको दाबी उनले गरे । ‘पोखराको बलात्कार घटनामा दरबारको पहुँच थियो भने निर्मला प्रकरणमा तत्कालीन एसपी र राजनीतिक पहुँचवालाको पहुँच थियो । हिजो श्रीपेचको आडमा पोखरामा बलात्कार र हत्या गरियो भने आज बिनाश्रीपेचका सिंहदरबारका जनप्रतिनिधिबाट त्यो घटना घटेको मैले महसुस गरेको छु’, उनले भने, ‘प्रहरीबाटै प्रमाण नष्ट गरी मानसिक विचलन भएका दिलीपसिंह विष्टलाई अपराधी ठहर गर्ने प्रयास गरियो ।’

उनका अनुसार २०३८ जेठ २४ गते नमिता, सुमीता राजभण्डारी र नीरा पराजुली पोखरा डुल्न गएको अवस्थामा विभिन्न प्रलोभनमा परी ब्यारेकमा पुगे । बलात्कारपछि सेतीमा फरक–फरक ठाउँमा उनीहरूको शव भेटिएको थियो । एक मात्र साक्षी वनपाले चूडामणि अधिकारी गोली हानी हत्या गरेको अवस्थामा भेटिएका थिए । ज्ञानेन्द्र शाहको गद्दी आरोहणको १० दिनमै अनुसन्धान रोकिएको थियो । ‘नमिता, सुमीता, नीरा जसरी ब्यारेकबाट बेपत्ता भए त्यसैगरी निर्मला पन्त बेपत्ता भएको रोशनी र बबिता बम दिदीबहिनीको घर थियो’, उनले भने ।

लगत्तै नेकपा सचेतक शान्ता चौधरीले कँडेलको अभियव्यक्तिको प्रतिवाद गरेकी थिइन् । ‘सिंहदबारबाट घटाइएको घटना, यस्तो भन्न मिल्छ ?’, उनले प्रश्न गरिन् ।