प्रकाशका नाममा विेदेशी बैंकमा खाता छैन: प्रचण्ड सचिवालय - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

प्रकाशका नाममा विेदेशी बैंकमा खाता छैन: प्रचण्ड सचिवालय



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले स्वर्गीय प्रकाश दाहालका नाममा दुर्बइको बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने प्रचारलाई प्रमाणित गर्न चुनौती दिएको छ। अध्यक्ष दाहालको सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रकाशको नाममा कुनै पनि विदेशको बैंकमा खाता र पैसा नरहेको जनाएकाे हो।

दाहालका स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘कमरेड प्रकाशको नाममा कुनै पनि विदेशको बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौती दिन्छौं। परिवर्तनका विरोधी, प्रतिक्रान्तिकारी तत्त्वहरुको यसखालका कपोकल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टीपङ्ती एवम् जनसमुदायमा अपिल गर्दछौँ। यसप्रकारका झुठा प्रचार गर्ने तत्त्वहरुलाई आवश्यक कारवाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौँ ।’

सचिवालयले जनक्रान्तिका उपलब्धिविरुद्ध प्रतिगामी तत्त्वहरूबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुष्प्रयासस्वरुप उक्त कु-प्रचार गरिएको ठहर गरेको छ। ‘क्रान्तिकारी धु्र्विकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहिन र भ्रामक कु-प्रचारमा लागेका छन्,’ विज्ञप्तिमा भनिएको छ।

स्वर्गीय प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने प्रचार भएको थियो।