स्वर्गका ‘देवता’ आएपनि राजतन्त्र फर्कदैन :सांसद अधिकारी
गोेरखा । गोरखा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका सांसद हरिराज अधिकारीले स्वर्गका ‘देवता’ आएपनि राजतन्त्र नफर्कने बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ गोरखाद्वारा आयोजित चौँथो सामुदायिक वन दिवस २०७६ कार्यक्रमलाई सम्बोधन गर्दै नेता अधिकारीले ठूलो संघर्षबाट आएको अहिलेको उपलब्धी कसैले चाहदैमा फर्केर नजाने बताएका हुन् ।
सिंहदरबारको अधिकारी गाउँघरमा ल्याउनु चानचुने कुरा होइन भन्दै उनले स्थानीय जनप्रतिनिधिहरुलाई राजा भन्दै विरोध गर्नेहरु संविधान र संघीयता विरोधीहरु भएकाको बताए ।
सरकारले ल्याउन लागेको वैज्ञानिक वन व्यवस्थापन नीति देउताको अक्षर नभएकोले संस्था र जनताको हितमा परिवर्तन गर्न सकिने उनको भनाई छ ।
संविधानको जगमा टेकेर सबै काम गर्ने हो, कुन ठीक कुन बेठीक भन्ने कुरा बहस, संवाद, छलफलमा तर्क र तथ्यसहित पुष्टि गर्नुपर्ने बताउँदै अनावश्यक पुराना नियम कानुन विस्थापित गर्दै परिमार्जन सहित नयाँ बनाउनुपर्ने उनले बताए ।
सामुदायिक वन उपभोक्ता समूहले वनको संरक्षण गरी पर्यावरण राम्रो बनाउनुका साथै गाउँमा नेताहरुको समेत उत्पादन गरेको अधिकारीको भनाई छ । जंगलको रक्षा गर्ने, कुनै शुल्क राज्यको लगानी नभएको, सामुहिक भावनाको विकास भएको, आन्तरिक र वाह्य पर्यटनमा अगाडि बढेकोमा देशकै गौरव बढेको उनले बताए ।
देशैभरी रहेका २२ हजार भन्दा बढी सामुदायिक वनहरु, गोरखामा रहेका पाँचसय भन्दा धेरै सामुदायिक वनहरुले एक सामुदायिक वन एक उत्पादनमा जोड दिएर अगाडि बढे देशमा छिट्टै समृद्धि आउने उनले बताए ।
गोरखा बारपाकस्थिर रागर सामुदायिक वनले सिस्नोको पाउडर उत्पादन गरी देश विदेशमा विक्री गरे जसरी अरु वनले पनि फरक उत्पादनमा जोड दिनुपर्ने बताए ।