‘मिस नेपाल अर्थ’ पृया बनिन साझा पार्टीको केन्द्रीय सदस्य

गत वर्षकी ‘मिस नेपाल अर्थ’ २४ वर्षीय पृया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ।
साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको हो। ‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी पृया सिग्देल पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन्। उनले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् र ‘युवा चेन्ज मेकर’को रूपमा स्विट्जरलण्ड, भारत र वंगलादेशमा आफ्ना प्रस्तुतिहरू दिएकी छन्।
साझा पार्टीले आज विज्ञप्ति जारी गर्दै उनलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको जनाएको छ । डा. सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा ‘पार्टीको यो निर्णयले आम युवाहरुलाई पार्टीमा सामेल हुन प्रेरित गर्ने हामीले विश्वास लिएको बयाइएको छ ।

