शान्ता चौधरी सरकारी स्कुलमै भर्ना: भावुक हुँदै यस्तो लेखिन - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

शान्ता चौधरी सरकारी स्कुलमै भर्ना: भावुक हुँदै यस्तो लेखिन



काठमाडौँ – नेकपाकी सचेतक शान्ता चौधरीले निजी उच्च माध्यामिक विद्यालयहरुले निःशुल्क पढाइ दिने आस्वासन दिंदा पनि रत्नराज्य लक्ष्मी माविमा भर्ना भएकी छन्। उनि मध्यबानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा मानविकी संकायमा कक्षा ११ मा भर्ना भएकी हुन्।

महंगा निजी उच्च माध्यामिक विद्यालयहरुले उनलाई निःशुल्क पढाइ दिने प्रस्ताव पनि गरे तर उनि भने सामुदायिक स्कुलमै भर्ना भएकी छन्। पढ्ने उमेरमा कमलरी बसेकी चौधरी नेकपाकी प्रभावशालि नेत्रीको रुपमा चिनिन्छिन।

असार दोस्रो हप्ता भएको एसईई परीक्षामा २.६५ जीपीए ल्याएर उत्तीर्ण भएकी थिइन्। उनले दाङको तुलसीपुरस्थित सेन्टर मावि केन्द्रबाट गएको चैतमा परीक्षा दिएकी थिइन्।

भर्नापछि चौधरीले भावुक हुँदै पढ्ने उमेरमा अरु कलेज जाँदा आफू टुलुटुलु हेरेर रुनु परेको र ढिलै भए पनि पढ्न पाउँदा खुशी लागेको बताएकी छन् ।

उनले भावुक हुँदै फेसबुकमा यस्तो लेखेकी छिन्।

प्राय कक्षा ११ मा भर्ना हुने १५/१६ वर्षको उमेरमा हो । तर त्यो उमेरमा परिस्थितिले मलाई झोला बोकेर कलेज जानेहरुलाई टुलुटुलु हेरेर बस्ने बनायो , मुटु समातेर धरधरी रुने बनायो ।

आज मात्रै नयाँ बानेश्वर स्थित रत्नराज्य मा . वि को मानविकी संकायमा भर्ना भएको छु । दु:खको सागर पौडिदै गरेको मान्छे म , त्यही सागरबाट उतारेर मलाई संसार बुझ्न सक्ने र बिस्तारै मनभित्रका रहरहरु पुरा गर्न वातावरण निर्माण गरिदिने मेरो पार्टी तत्कालीन नेकपा( एमाले ) अर्थात हालको नेकपालाई हार्दिक धन्यवाद छ ।

हृदयदेखि नै धन्यवाद छ अग्रज नेताहरुलाई , शुभेच्छुक साथीहरूलाई , आफन्तजनहरुलाई र शिक्षाको ज्योति दिएर बाटो देखाउँदै गर्नु हुने आदरणीय व्यक्तित्वहरुलाई । ईच्छा मेरो , साथ तपाईंहरुको । तत्परता मेरो , प्रेरणा तपाईंहरुको । गुन तिर्न नसकुँला तर अन्तिम स्वाससम्म सम्झिरहने छु तपाईंहरुको साथलाई र भनिरहने छु “आभारी छु “।