श्रीमतीले थेगेको एनपी साउदको राजनीति, यसरी भयो खुलासा - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

श्रीमतीले थेगेको एनपी साउदको राजनीति, यसरी भयो खुलासा



नेपाली काँग्रेसको राजनीतिमा एक जना प्रभावशाली नेताको नाम हो एनपी साउद । डडेलधुरामा जन्मिएका साउद विद्यार्थी राजनीतिदेखि नै काँग्रेसमा प्रभुत्व जमाउन सफल व्यक्ति हुन् । २०४८ सालमा नेपाल विद्यार्थी सङ्घको अध्यक्ष भइसकेका साउद पार्टीको राजनीतिमा पनि पकड बनाउन सफल छन् ।

पूर्व सिँचाई मन्त्रीसमेत रहेका साउद पार्टीको वर्तमान केन्द्रीय सदस्य पनि हुन् । देउवा निकट मानिने साउद गत निर्वाचनमा कञ्चपुर क्षेत्र नम्बर दुई दुईबाट नरबहादुर धामीसँग पराजित भए । उनी निर्वाचनमा पराजित भए पनि पार्टीमा भने बलियो नै छन् । पार्टीभित्रका कुनै विभाग होस् वा भातृ तथा शुभेच्छुक संस्थाको गठनमा उनको भूमिका पनि प्रमुख हुन्छ । देउवा निकट भएको र देउवालाई रिझाउन सक्ने खुबी भएकाले उनले पार्टीमा प्रभाव जमाई रहेको केही काँग्रेस नेताको बुझाई छ । केही नेताहरूले भने साउदले देउवाको अत्ति नै चाप्लुसी गरेकैले राजनीतिमा टिकेको बताएका छन्।

नेता साउदलाई काठमाडौँमै बस्ने, गृह क्षेत्र कहिले नजाने केन्द्रमै बसेर चलखेल गर्ने आरोप बेला–बेला लाग्ने गरेको छ । उनलाई देउवा गुटको पृष्ठपोषणमा ठुलो भूमिका खेल्ने नेताको रूपमा पनि हेरिने गरेको स्रोतको दाबी छ । विभिन्न सङ्गठनमा आफू निकट व्यक्ति नआउँदा कुनै पनि हालतमा निर्वाचन हुन नदिन चलखेल गर्ने व्यक्तिको नाममा उनको नाम पनि अग्रपंतीमा आउँछ ।

नेपाल विद्यार्थी सङ्घ नेतृत्व बिहीन भएको छ महिना बितिसक्दा पनि नयाँ नेतृत्व पाउन नसक्नुमा पार्टीभित्रको साउद प्रवृत्ति मुख्य बाधक भएको एक नेताले बताए । काँग्रेस राजनीतिक वृत्तमा नेता साउदप्रति कार्यकर्ताको अर्को ठुलो गुनासो के पनि छ भने उनलाई भेट्न आउने कार्यकर्तालाई उनी समय दिँदैनन् । बरु भित्र सुतिदिने तर कार्यकर्तालाई व्यस्त छ भनेर देखाउने गरेको उनीलाई पटक–पटक भेट्न खोजेर पनि भेट हुन नसकेका एक कार्यकर्ताले गुनासो गरे । उनले आफ्नो नाम नबताउने सर्तमा नेता साउद मन्त्री भएको बेला उनको भतिजोको एक सन्सल्टेन्सी रहेको र त्यसमा उनले केही योजना दिएर ठुलो आर्थिक चलखेल गरेको पनि आरोप लगाए ।

कार्यकर्ताहरूका अनुसार उनी निर्वाचन क्षेत्र कैले जाँदैनन् । सुदूरपश्चिमका समस्या राष्टिय रूपमा उठाउन सधैँ चुक्ने गरेका छन् । रमेश लेखक र एनपी साउद जस्ता प्रभावशाली नेता पाएको कञ्चनपुर जिल्लामा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष बिती सक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । जसमा त्यहाँको प्रतिनिधिको हिसाबले उनीहरूले बुलन्द आवाज उठाउनु पर्नेमा त्यसो हुन नसकेको कार्यकर्ताको अर्को आरोप छ ।

साउद भन्दा पनि उनकी श्रीमतीले उनको राजनीति थेगी रहेको कार्यकर्ताको आरोप छ । बरु साउद श्रीमती जोत्सना साउदले कार्यकर्ताहरूलाई भेट्ने उनीहरूको गुनासा सुन्ने र समस्या समाधानका लागि पहल गर्ने लगायका काम गर्ने गरेको कार्यकर्ताहरूले बताउने गरेका छन् । अर्का कार्यकताले ठट्यौली शैलीमा साउद श्रीमतीले नै उनको राजनीति थेगिरहेको टिप्पणी गरे ।

उनलाई पार्टी र आफ्नो क्षेत्र भन्दा पनि आफ्नो पद प्यारो रहेको टिप्पणी हुने गरेको छ । उनले पद जोगाउन र पार्टीमा प्रभुत्व बनाइराख्न पार्टी नेतृत्वलाई हदैसम्म प्रभावमा पार्ने गरेको टिप्पणी हुन थालेको छ ।

सधैँ यसै गरी राजनीति गर्ने सोच भए आगामी निर्वाचनमा सुदूरपश्चिम तर्फ फर्केर नहेर्न स्थानीय कार्यकर्ताले नेता साउदलाई कडा चेतावनी दिएका छन् । स्रोतले उनी मन्त्री हुँदा कन्सल्टेन्सीका नाममा गरेको आर्थिक चलखेलको तथ्यहरू हामीलाई उपलब्ध गराएको छ । छिट्टै त्यसको चिरफार हिमाल पोस्टले गर्ने छ ।