वायुसेवा निगमलाई सुधार गर्न भट्टराईको यस्तो कदम

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमलाई सुधार गर्न समिति गठन गर्नुभएको छ । मन्त्रीको कार्यभार सम्हालेलगत्तै बायु सेवा निगमलाई वाह भन्ने बनाउने उदघोष गर्नुभएका भट्टराईले आज ‘निगम सुधार समिति’ गठन गर्नुभएको हो ।
मन्त्री भट्टराईले निगमको समग्र सुधारका उपायहरु पहिल्याउन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा समिति गठन गर्नुभएको छ । समितिमा चार्टर्ड एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ विनप्रसाद पौडेल, निमगका पूर्व क्याप्टेन सुधीर राई र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनुभएको छ ।
समितिले हालसम्मका प्रतिवेदनहरुको अध्ययन गर्ने, निगमको आर्थिक कानुनी लगायत समग्र स्थितिको अध्ययन गरी तत्कालीन र दिर्घकालीन योजना सहितको प्रतिवेदन दिने छ। समितिलाई अध्ययन तथा प्रतिवेदन तयार गर्न एक महिनाको समय दिइएकोछ।
बायु सेवा निगमलाई नाफामा लैजाने गरी काम अघि बढाउने योजनाका साथ मन्त्री भट्टराईले समिति गठन गर्नुभएको मन्त्रालय स्रोतले बताएको छ । नेपाल बायुसेवा निगम कमजोरब्यवस्थापनका कारण दैनिक घाटामा गइरहेको बेला मन्त्री भट्टराईले निगम सुधार अभियान थाल्नुभएको हो ।

