मन्त्री योगेश भट्टराईले गरे अचम्मको घोषणा - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

मन्त्री योगेश भट्टराईले गरे अचम्मको घोषणा



काठमाडौं । नवनियुक्त पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अचम्मको घोषणा गरेका छन् । बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

बल्खु पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘म प्रधानमन्त्रीको आलोचक पनि हुँ र सबैभन्दा कठोर समर्थक पनि हुँ, अब म प्रधानमन्त्रीसँग करार सम्झौता गर्छु, मेरो सबैभन्दा ठूलो करार सम्झौता यही हुनेछ जुन दिन मैले काम गर्न सकिन र असफल भएँ भन्ने प्रधानामन्त्रीलाई महसुस भएर उहाँले भन्नेबित्तिकै म पछाडि हट्छु ।’

उनले आफूले काम गर्न नसकेको खण्डमा आफैं मन्त्री पदबाट राजीनामा दिने बताएका छन् । प्रधानमन्त्रीले आफूलाई जुन विश्वास गरेर यो ठाउँ दिएका छन्, त्यस विश्वासलाई कुठाराघात हुन नदिने भन्दै उनले भने, ‘आमनेपाली जनताले मलाई धेरै ठूलो बधाइ दिएका छन्, त्यो बधाई मेरा लागि निकै ठूलो चुनौती हो, ती चुनौतीलाई सामना गर्दै अघिबढ्नु मेरो दायित्व हुनेछ ।’

भ्रमण वर्ष ढोकैअघिको चुनौती रहेको बताउँदै उनले तीव्रगतिमा काम अघि बढ्ने र सफल पनि हुने बताए । नेपाललाई विश्वकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने उनले बताए । गौतम बुद्ध विमानस्थल र पोखरा विमास्थललाई भ्रमण वर्षकै आसपासमा अप्रेसनमा ल्याउने उनले वाचा गरे ।

यसैगरी, बाराको अन्तर्राष्ट्रिय विमानस्थल सबै राजनीतिक दल तथा जनतालाई सहमतिमा ल्याएर बनाउने प्रतिबद्धता व्यक्त गरे । सुखी नेपाली समृद्ध नेपालको नारालाई साथ दिने र त्यो नारा सार्थक बनाउँदै पर्यटन प्रवद्र्धनका माध्यमबाट नेपालको अर्थतन्त्रलाई मजबुत बनाउने दिशामा सरकार लाग्ने बताए ।

नवनियुक्त मन्त्री भट्टराईले तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । भट्टराईले बिहीबार बिहान पेरिसडाँडामा पुगेर शहीदहरूको स्मारकमा माल्यार्पण गरेका हुन् । पेरिसडाँडामा जनयुद्धका शहीद तथा बेपत्ताको स्मरणमा बनाइएको स्तम्भमा भट्टराईले फूलका गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरे ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि पेरिसडाँडा पुगेर जनयुद्धका शहीद तथा बेपत्ताहरूको स्मरण गर्ने भट्टराई पहिलो मन्त्री हुन् ।