विप्लवका नेताको खुलासा: अब अरु विकल्प छैन - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

विप्लवका नेताको खुलासा: अब अरु विकल्प छैन



काठमाडौं- नेत्रविक्रम चन्द समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीले सरकार र आफ्नो पार्टीबीच वार्ताको विकल्प नभएको बताएका छन्।

महानगरीय प्रहरी परिसर टेकुमा आज रासससँग कुुरा गर्दै कार्कीले देश द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने भएकाले शान्तिपूर्ण रुपमै समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए।

उनले आफू वार्ताको पक्षमा रहेको र वार्ताकै लागि विभिन्न सम्पर्कसूत्रमार्फत प्रयास गर्दैगर्दा पक्राउ परेको जानकारी दिए। वार्ताका लागि राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ।

पार्टीको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति भएको र छापामार युद्ध नरहेको जिकिर गर्दै उनले भने , ‘एकीकृत जनक्रान्ति भनेको किसान, मजदूर, मध्यमवर्ग र राष्ट्रिय पूँजीपति वर्गलाई एकीकृत ढङ्गले अगाडि बढाउने र जनआन्दोलन सञ्चालन गर्ने हो, कतिपय साथीहरुले त्यसलाई नबुझेर छापामार युद्धतिर लैजाने प्रयत्न गरिराख्नुभएको छ।’

आफूले पार्टीका महासचिव चन्दलाई समेत पार्टीमा केही कुराहरु सच्याउन र कार्यदिशाअनुसार शहरका मध्यम वर्गको साथ लिएर जनतालाई राहत दिने तथा राष्ट्रिय जागरण फैलाउने अभियान गर्नुपर्ने सुझाव दिएको जानकारी दिए। उनले आफ्नो समूहको केही कमजोरी भएको स्वीकार गरे।

चन्द समूहले सञ्चालन गरेको विध्वंसात्मक घटनामा संलग्न रहेको आरोपमा उनलाई गत चैत १ गते ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो। रासस