‘म्यान भर्सेस वाइल्ड’मा मोदी देखिएपछि भारतमा खैलाबैला - Himal Post Himal Post
  • १२ मंसिर २०८१, बुधबार
  •      Wed Nov 27 2024
Logo

‘म्यान भर्सेस वाइल्ड’मा मोदी देखिएपछि भारतमा खैलाबैला



एजेन्सी- भारत प्रशासित जम्मु कस्मिरमा ४० जनाको ज्यान जाने गरी भएको पुलवामा आक्रमण महिनौँ बितिसक्दा पनि त्यस दिन दिउँसो ३ः१४ बजे भारतका प्रधानमन्त्री मोदी के गरिरहेका थिए र उनलाई आक्रमणबारे कति बजे जानकारी गराइयो भन्ने रहस्य नै रहेको छ ।

त्यस दिन साँझ ७ बजे वरपर उत्तराखण्डको कोरबेट राष्ट्रिय निकुञ्जबाट निस्किएको मोदीको गाडीको भिडियो केही टीभीले खिचेका थिए । भोलिपल्टका स्थानीय पत्रिकाले पनि त्यसलाई पुष्टि गर्ने समाचार लेखेका छन् ।

हाल आएर डिस्कभरी च्यानलमा प्रसारण हुने ‘म्यान भर्सेस वाइल्ड’ कार्यक्रमको एउटा प्रोमो भिडियो सार्वजनिक भएको छ, जसले मोदी त्यो दिन कहाँ थिए भन्नेबारे प्रकाश पारेको छ ।

भारतका विपक्षी पार्टीले पहिलेदेखि नै प्रधानमन्त्री मोदीले दर्जनौँ सैन्य जवानको हत्या हुने गरी भएको आत्मघाती आक्रमणको समाचार सुनेपछि पनि कुनै प्रचारात्मक भिडियो खिचिराख्न लगाएको आरोप लगाउँदै आएका थिए ।

विपक्षीहरुले आक्रमण दिउँसो ३ः१४ मा भएको तर मोदी साँझ ७ बजे कोरबेट राष्ट्रिय निकुञ्जबाट निस्केको तथ्यलाई औँल्याउँदै देशको सुरक्षाभन्दा महत्त्वपूर्ण जङ्गलमा के थियो भनेर जवाफ माग्दै आएका थिए ।

त्यसको जवाफ अहिले बियर ग्रिलले सञ्चालन गर्ने कार्यक्रमको प्रोमो भिडियोले दिएको छ ।

प्रोमो भिडियोमा भारतीय प्रधानमन्त्री ‘वातावरणीय परिवर्तनको मुद्दा’मा प्रकाश पार्न जिम कोरबेट राष्ट्रिय निकुञ्जका वन–जङ्गल चहारेको देखिन्छ ।

‘म्यान भर्सेस वाइल्ड’को उक्त एपिसोड अगस्ट १२ मा प्रदर्शन हुँदैछ । त्यो विश्वको १८० देशमा प्रसारण हुनेछ ।

‘म्यान भर्सेस वाइल्ड’को सहभागिताबारे मोदीले एउटा विज्ञप्तिमा भनेका छन्, ‘राजनीतिभन्दा फरक जीवनमा केन्द्रित भएको विशेष कार्यक्रममा सहभागी हुनेबारे मलाई सोधियो । प्रकृतिमाझ रहेर गरिने त्यस कार्यक्रमले मलाई आकर्षित गर्यो र सहभागी हुने इच्छा देखाएँ ।’

तर थप महत्त्वपूर्ण प्रश्न हो, के मोदीले ‘प्रकृतिमाझ रहन’का लागि प्रधानमन्त्रीका रूपमा निभाउनुपर्ने मूल राजनीतिक कर्तव्य नै बिर्सिए ?

कोरबेटमा के गरिरहेका थिए भन्ने प्रष्ट नभने पनि विपक्षी पार्टीले पुलवामा आक्रमणपछि मोदीले कोरबेटको भ्रमण नछोट्याएको भन्दै विरोध गर्दै आएका थिए ।

डिस्कभरी धन्यवादको पात्र हो जसले मोदी त्यो दिन के गरिरहेका थिए भन्ने खुलासा गरिदिएको छ । मोदी त्यो दिन ‘जीवनकालकै अपूर्व साहसिक कार्य’मा पो रहेछन् ।

कार्यक्रमको प्रोमो भिडियोमा कुर्ता, पाइजामा, सफारी ज्याकेट र स्कार्फ लगाएका मोदी वनमा विभिन्न कठिनता चिर्दै अघि बढेका देखिन्छन् ।

त्यस दिनको मोदीको कार्यतालिका

विभिन्न रिपोर्टअनुसार पुलवामामा अर्धसैनिक जवानमाथि आत्मघाती आक्रमण ३ः१० र ३ः१५ बीच भएको थियो । र, टीभी फुटेज र स्थानीय समाचारपत्र हेर्दा मोदी साँझ ६ः४० र ७ः३० बीच कोरबेट राष्ट्रिय निकुञ्जबाट निस्किएका थिए ।

भारतको प्रधानमन्त्री कार्यालयले जारी गरेको मोदीको त्यस दिनको आधिकारिक समयतालिका अनुसार पनि मोदी राष्ट्रिय निकुञ्जमा बिहान ९ बजे पुग्ने र दिउँसो २ बजे फर्किने कुरा थियो ।

तर देहरादुनमा भारी वर्षा भएका कारणले मोदी चढेको हेलिकप्टर चार घण्टापछि मात्र अवतरण हुन सक्यो । त्यसैले सबै कार्यतालिका पछाडि धकेलिएको थियो ।

जिल्ला तथा राष्ट्रिय निकुञ्जका अधिकारीले डिस्कभरीको सुटिङको विवरण दिन अस्वीकार गरेकाले मोदीको सुटिङ आक्रमण अघि वा पछि भएको थियो भन्न कठिन छ ।

पुलवामा आक्रमणको एक हप्तापछि राष्ट्रिय सुरक्षा प्रोटोकलसँग जानकार एक जना शीर्ष अधिकारीले ‘यो स्तरको राष्ट्रिय महत्त्वको घटनाको सूचना तत्कालन प्रधानमन्त्रीलाई नदिने सम्भावना कम रहेको’ ‘द वायर’लाई बताएका थिए ।

अझ रमाइलो कुरा त के छ भने मोदीले राष्ट्रिय निकुञ्जभित्र रहेको खिनानौली गेस्ट हाउसबाट साँझ ५ः१० रद्रपुरमा भएको भाजपा र्यालीलाई फोनमार्फत सम्बोधन गरेका छन् । आक्रमण भएको दुई घण्टा बितिसकेकाले यो समयसम्म मोदीलाई घटनाको जानकारी गराइसक्ने सम्भावना अत्यधिक हुन्छ ।

तर भाषणमा मोदीले पुलवामा आक्रमणको एक पटक पनि उल्लेख गरेका छैनन् । जबकि पछि आम निर्वाचनमा भएको सबैजसो र्यालीमा उनले अर्धसैनिक जवानको मृत्यु भएको आत्मघाती घटनाको उल्लेख गर्ने गरेको देखिएको छ ।

मोदीलाई यो समयसम्म पुलवामा आक्रमणबारे थाहा थिएन कि उनले घटनाबारे थाहा पाएर पनि डिस्कभरीको सदस्यसँग कोरबेटमै समय बिताएर बसेको भन्ने बाहिरिए विपक्षीले मुद्दा पाउलाउन् भन्ने डरले चलाखी गरेका थिए ।

यसबारे स्पष्ट जबाफ कहिल्यै सार्वजनिक नहुन सक्छ । तर कम्तीमा हामीलाई यो थाहा भएको छ कि पुलवामा आक्रमण भएको दिन मोदी ‘भारतको वनमा साहसिक यात्रा’ गरिरहेका थिए ।