रोहितसँगको झागडाबारे कोहलीले मुख खोले - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

रोहितसँगको झागडाबारे कोहलीले मुख खोले



एजेन्सी- भारतीय कप्तान विराट कोहलीले सोमबार टोलीका खेलाडीहरूबीच कसैको कसैसँग कुनै प्रकारको मनमुटाव नभएको बताएका छन्।

उनले रोहित शर्मा र उनीबीच कुनै किसिमको समस्या रहेको कुरालाई खारेज गर्दै आफूहरूबीच समस्या रहेको खबर सुनेर दुःख लागेको बताए।

पछिल्लो समय विश्वकप क्रिकेटमा सेमिफाइनलमा न्युजिल्याण्डसँग पराजित भएपछि टोलीमा मनमुटाव सुरू भएको खबर बाहिरिएको थियो। त्यसपछि भारतीय टोली कोहली र शर्माको धुर्वमा बाँडिएको बताइएको थियो।

सोमबार विराटले यदि त्यस्तो केहि भएको भए त्यो आफ्नो अनुहारमा देखिने बताए।

‘मैले इमान्दारिताका साथ भन्नुपर्दा यो हैरान बनाउने कुरा हो। यस्ता खबर पढ्नु एकदमै निराशाजनक हो। म केहि सामाजिक समारोहमा भएको थिएँ, त्यहाँ मानिसहरूले मलाई राम्रो खेल्नुभएको बताए’, कोहलीले भने , ‘हामीलाई झुठ कुरा भनिदैंछ। हामी सत्यलाई नजर अन्दाज गर्दैछौं। हामी राम्रा कुराहरूलाई उपेक्षा गर्दैछौं। हामी मनमा कुराहरू बनाइरहेका छौ र हामी चाहन्छौ की त्यही सत्य भइदियोस्।’

यस्तै कोहलीले यस्ता कुराहरूको सामना लामो समयदेखि देख्दै आएको बताउँदै कसैको निजी जीवनलाई सार्वजनिक विषय बनाउनु सम्मानजनक नभएको बताए।

‘यस्ता कुरा मैले निक्कै लामो समयदेखि देख्दै आएको छु। कसेको निजी जीवनलाई सार्वजनिक गर्नु सम्मानजनक काम होइन। मेरो र रोहितकोबीचमा कुनै मनमुटाव छैन्।’

उनले यस्ता खबर कहाँबाट र कुन उदेश्यका लागि आउँछन् थाहा नपाएको बताए।

‘मलाई केही समस्या भएको भए त्यो मेरो अनुहारमा देखिन्छ। मेरो र रोहितबीच सबै कुरा ठीक छ। मलाई थाहा छैन यस्ता खबर कहाँबाट आउँछन्। यसमा कसको फाइदा छ? म ड्रेसिङ रूमको माहोल तपाईंहरूलाई यहाँ बताउन सक्दिन। तपाईंहरू आफै आएर हेर्नुस्, हामीहरू एकअर्कासँग कसरी बस्छौं।’