मलाई हेग लगेर पनि केही फरक पर्दैन झन् विश्वकै हिरो भएर निस्किन्छु:प्रचण्ड - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

मलाई हेग लगेर पनि केही फरक पर्दैन झन् विश्वकै हिरो भएर निस्किन्छु:प्रचण्ड



काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई हेग लिएर गए पनि केही फरक नपर्ने बताएका छन्।

सोमबार आफ्नै निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुलाई हेग लैजाने र एक दिन भए पनि जेल हाल्ने भनेर गरिएको प्रचार डिजाइनअन्तर्गत भएको जिकिर गरे।

‘परिवर्तन नचाहने तत्वहरु त्यसमा लागेका छन्,’ उनले भने, ‘मलाई हेग लगेर पनि केही फरक पर्दैन। त्यहाँ लगे भने विश्वकै हिरो भएर निस्किन्छु। संसारले मलाई एकैपटक चिन्छन्। संसारभरिका जनताले यो शान्ति र न्यायको पक्षमा रहेछ भन्ने ठाउँ हुन्छ। त्यो मेरो लागि गर्वको कुरा हुन्छ।’

उनले आफूलाई हेग लगेर विश्वकै हिरो बनाउलान् भन्ने चाहिँ नलागेको बताए।

त्यस्तै उनले शान्ति प्रक्रियामा नआएको भए आफूहरु लिट्टे बन्ने खतरा रहेको औंल्याए। नेपालमा आएको परिवर्तन हामी आफैंले ल्याएको उनको भनाइ छ। ‘अरु कसैले ल्याएको होइन’, उनले भने।

प्राप्त भएको उपलब्धिलाई टेकर अगाडि बढ्न आफूहरु शान्ति प्रक्रियामा आएको प्रचण्डले स्पष्ट पारे। ‘यहाँ नआउँदा पेरु र फिलिपिन्समा जे स्थिति भयो, हाम्रो त्यही स्थिति हुनेवाला थियो। लिट्टेको जे भयो, त्यही हुने खतरा थियो’, उनले भने।

क्रान्ति दुई/चार जना क्रान्तिकारीले गरेर हुने चिज नभएको प्रचण्डको भनाइ छ। ‘लेनिनले पटकपटक भनेका छन्– क्रान्ति दुई/चार जनालाई रहर लाग्यो, म क्रान्ति गर्छु भनेर हुने चिज होइन। क्रान्ति लाखौं करोडौं जनताको कार्य हो,’ उनले थपे, ‘जनताबिना क्रान्ति हुँदैन।’

उनले विप्लव पनि शान्ति प्रक्रियामा नआए सक्किने दाबी गरे।

वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी रहेकोतर्फ उनले सचेत गराए। त्यसका लागि नेताहरुलाई बदनाम गर्न लागि परिरहेको उनको आरोप छ।