कुवेतविरुद्ध नेपाल : सम्भावना र चुनौती - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

कुवेतविरुद्ध नेपाल : सम्भावना र चुनौती



काठमाडौं – सिंगापुरमा जारी आईसीसी टी २० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत नेपालले शनिवार कुवेतसँग खेल्ने छ । खेल नेपाली समय अनुसार विहान ७:१५ बाट सुरु हुने छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार बिहान ७:१५ मा सुरु हुनेछ । र, कुवेतविरुद्ध मैदान उत्रँदा नेपाल स्पष्ट जितको खोजीमा हुनेछ ।

अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपालको लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको छ । किनकी विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्न नेपाललाई बाँकी दुई खेलमा स्पष्ट जितको आवश्यकता रहेको छ ।

पहिलो खेलमा अप्रत्यासित रुपमा कतारसँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो । त्यसैले छनोटको शीर्ष स्थानमा रहदै ग्लोबल छनोटमा पुग्न नेपाललाई दुई खेल नै महत्वपूर्ण रहेको छ ।

छनोटको २ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा रहेको छ । कुवेत ३ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ ।  कुवेतलाई हराए नेपाल दोस्रो स्थानमा उक्लने छ । र, ग्लोबल छनोटको सम्भावना कायम राख्नेछ । ३ खेलमा ५ अंक जोडेको सिंगापुर शीर्ष स्थानमा छ । कुवेतसँग पराजित भएमा नेपालको ग्लोबल छनोट सकिनेछ ।

कुवेतसँगको खेलमा कप्तान पारस खड्का मैदान उत्रने सम्भावना बलियो छ  । कतारसँगको खेलमा चोट बोकेका कप्तान पारसले मलेसियाविरुद्धको खेल गुमाएका थिए ।

हेड टु हेड

नेपाल र कुवेतले अहिलेसम्म ९ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा ६ एकदिवसीय र ३ टी-ट्वान्टी रहेको छ ।

नेपालले एकदिवसीयमा ५ खेलमा जित निकालेको छ भने १ खेल कुवेतले जितेको छ । यस्तै टी-ट्वान्टीमा नेपाल पूर्ण रुपमा हाबी रहेको छ । 

कुवेतसँग नेपालले सन् २००२ को एसीसी ट्रफीमा पहिलो पटक खेलेको थियो । नेपालले ५० ओभरमा दिएको २ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा कुवेत ३५ ओभर १ बलमा १ सय ६४ रन जोड्दा अलआउट भएको थियो । र, नेपालले उक्त खेल १२४ रनले जितेको थियो । 

सन् २००५ को आईसीसी डिभिजन-२ मा नेपाल ५ विकेटले पराजित भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको कुवेत ३१ ओभरमा ९५ रन बनाउँदा अलआउट भयो । कुवेतलाई सस्तैमा समेट्न नेपालका धिरेन्द्र चन्दले ५ विकेट हात पारेका थिए । जवाफमा नेपालले ४४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । 

सन् २००६ को एसीसी ट्रफीमा नेपाल ६ विकेटले विजयी भएको थियो । कुवेतले ५० ओभरमा ७८ विकेट गुमाएर २ सय ४ रन बनायो । जवाफमा नेपालका ज्ञानेन्द्र मल्ल र बिनोद दासले अर्धशतकीय इनिङ्स खेलेपछि नेपालले ४७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै सहज जित हात पार्यो ।

सन् २००८ को एसीसी ट्रफी एलिटमा नेपाल पुन: ७ विकेटले विजयी भएको थियो । कुवेतले दिएको १ सय ४ रनको लक्ष्य नेपालले २९ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

सन् २०१० मा कुवेतमा भएको एसीसी एलिट ट्रफीमा नेपालले ८ विकेटको जित निकालेको थियो । कुवेतले दिएको १ सय २० रनको लक्ष्य नेपालले २६ ओभर ४ बलमा २ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा सन्जम रेग्मीले ४ तथा बिनोद दासले ३ विकेट हात पारेका थिए । ब्याटिङतर्फ महेश क्षेत्रीले ६३ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

सन् २०१२ को एसीसी ट्रफी एलिटमा भने नेपालले अप्रत्यासित हार व्यहोरेको थियो । नेपालले दिएको २ सय ८० रनको ठुलो लक्ष्य कुवेतले सहजै पुरा गर्यो । नेपालका कप्तान पारस खड्काले ७७ बलमा १ सय ६ रन बनाएको शतकीय इनिङ्स अन्तराष्ट्रिय करियरमा उनको पहिलो शतक थियो । तर उनको ऐतिहासिक व्यक्तिगत सफलतामा नेपालले हार व्यहोरेको थियो । नेपालले दिएको लक्ष्य कुवेतले ४६ ओभर २ बलमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

सन् २००९ को एसीसी टी-ट्वान्टीमा नेपाल र कुवेतको खेल बराबरी भएको थियो । नेपालले दिएको १२३ रनको लक्ष्य कुवेतले १९ ओभर १ बलमा १२३ रन जोड्दा अलआउट भएको थियो । बराबरीपछि बोल्ड आउटको आधारमा नेपालले जित हात पारेको थियो ।

सन् २०११ को एसीसी टी -ट्वान्टी कपमा नेपाल १ रनले विजयी भएको थियो । नेपालले दिएको १ सय २७ रनको लक्ष्य कुवेतले १९ ओभर ५ बलमा १२५ बनाएर अलआउट भएको थियो । 

अन्तिम पटक नेपाल र कुवेत सन् २०१४ को एसियन गेम्समा भेट भएका थिए । जुन खेलमा नेपालले ९ विकेटको जित निकालेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको कुवेतलाई नेपाली बलरले खुलेर खेल्न दिएनन् । कुवेतले १३ ओभर २ बलमा अलआउट हुँदा मात्र २० रन बनाउन सक्यो । कुवेतलाई सस्तैमा समेट्न सोमपाल कामी र बसन्त रेग्मीले समान ३/३ विकेट हात पारेका थिए।

जवाफी ब्याटिङ गरेको नेपालले २ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।