सरकारलाई साथ् दिने गगन थापाको यस्तो सर्त - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

सरकारलाई साथ् दिने गगन थापाको यस्तो सर्त



नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बाढी पहिरोले आक्रान्त बनेका जनताले सरकार देख्न र भेटाउन नसकेको बताएका छन्। बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका जनताले राहतका लागि सरकार खोजिरहेको उनले जनाए।

‘मधेस बाढीबाट सबैभन्दा पीडित छ भने पहाडको पीडा पनि कम छैन । काठमाडौं उपत्यकामा पनि पहिरोले प्रभाव पारेको छ,’ बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले भने, ‘धेरैजना बाढीपहिरो प्रभावित क्षेत्रमा जानु भएको छ । सबैको सार एउटै छ– सरकार देखिएन, सरकार भेटिएन।’

सरकार इमान्दार भएर बाढीपहिरो पीडितकोमा पुगे सबैले साथ दिने उनले जनाए । उनले थपे, ‘सरकार सबै ठाउँमा पुग्ने इमान्दार प्रयास गरोस् । त्यसमा हाम्रो साथ रहन्छ । रहनु पनि पर्छ, हामी सबै सरकारसँग रहन चाहन्छौं ।’

उनले नेपालीको रुने क्यालेन्डर भएको बताए । कुन महिना, के कारण रुने भन्ने स्पष्ट रहेको उनले जनाए । ‘हाम्रो एउटा रुने क्यालेण्डर छ । जेठमा हामी विकास खर्च भएन वा छोटो समयमा भयो भनेर रुन्छौं । साउनमा हामी सार्वजनिक शिक्षाको बारेमा रुन्छौं । दशैमा महंगीको बारेमा रुन्छौं । प्रत्येक वर्षको साउन र भदौ बाढी पहिरो पीडितका लागि रुन छुट्टयाएको छौं,’ सांसद थापाले भने।

यो क्यालेण्डर बदल्ने हो भने काम गर्ने तरिका फेर्नुपर्ने उनले बताए । गरिरहेका केही काम छोड्नु पर्ने र छोडिरहेका केही कुरा गर्नुपर्ने सुझाव उनले दिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जलवायु परिवर्तन विज्ञानसम्मत नभएको भन्ने सुविधा भएको तर नेपालीलाई त्यो सुविधा प्राप्त नभएको उनले बताए।

‘जलवायु परिवर्तन हाम्रो चासोको विषय रहनै पर्छ । प्रकृतिसँग सहअस्तित्वलाई नजरअन्दाज गरेर मधेस, पहाड र उपत्यकामा हामीले जे विकास गर्‍यौं, त्यो विकास होइन विनास हो । अब रोकिने बेला आएको छ । विकासको यो ढाँचालाई हामीले बदल्नै पर्छ । हामीले बनाएका केही पूर्वाधार बदल्नु पर्नेछ, भत्काउनु पर्नेछ । केही पूर्वाधार तत्काल बनाउनु पर्नेछ,’ उनले भने।

सीमापारी बाँध बाधियो र सो कारणले डुबानमा पर्‍यौं भनेर प्रत्येक वर्ष भन्दै आइएको उनले स्मरण गरे। उनले थपे, ‘यसपटक भने संकल्प गरौं, सरकारले यसमा पहलकदमी गरोस् । सिंगो संसद एक ठाउँमा उभिनुपर्छ । यो विषयको हल यसपटक हामीले खोज्नै पर्छ।’

सांसद थापाले गृहमन्त्री रामबहादुर थापाले मंगलबार एक सन्दर्भमा गरेको ‘बलत्कार हिजो पनि भयो, आज पनि छ, भोलीपनि रहन्छ’ भन्ने तर्क बाढीपहिरो प्रभावितका सम्बन्धमा नगर्न पनि आग्रह गरे । यो बेला प्रतिपक्षले सरकारलाई साथ दिन चाहेको उनले स्पष्ट पारे।