शोकमा डुब्यो गुल्मी: खानेपानीको हाहाकार, स्कुलमा बास, रोग फैलने त्रास - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

शोकमा डुब्यो गुल्मी: खानेपानीको हाहाकार, स्कुलमा बास, रोग फैलने त्रास



गुल्मी : अविरल वर्षाको कारण पहिरोले बितण्डा मच्चाएपछि गुल्मी जिल्ला शोकमा डुबेको छ। सत्यवती गाउँपालिका बासिन्दाले सम्पत्ति, आफन्त र सर्वश्व गुमाएका छन्।

मंगलबार गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ। पहिरोमा वेपत्ता भएका चार जनामध्ये दुई जनाको शव बुधवार भेटिएको छ। गाउँपालिका ३ र ४ को लिम्घा र ठुलोलुम्पेकमा पहिरोका कारण तीन सय बढी परिवार विस्थापित भएका छन्। सिङ्गो गाउँ रहेको पहाडमा नै फुटेको छ।

स्थानीय बासिन्दाहरू घर छाडेर अन्यत्र बसाइ सरेका छन्। उनीहरु अहिले स्थानीय विद्यालयमा बास बसिरहेका छन्। पहिरोमा परी तारा विक र मायाँ विक बेपत्ता छन्। उनीहरुको खोजीकार्य जारी रहेको छ। पहिरोबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ।

नजिकैको स्थानीय सरस्वती माध्यमिक बिद्यालय र धर्मापुर माध्यमिक विद्यालयमा तीन सय बढी परिवार ओत लागेका छन् । स्थानीय सरकारले मात्र पीडितको माग पुरा गर्न कठिनाइ भएको बताएको छ। पहिरोले खानेपानीका पाइप बगाएपछि गाउँमा पानीको हाहाकार भएको छ। घरगोठ र स्थानीय एक विद्यालयसमेत समेत पहिरोले सखाप पारेको छ ।

रुद्रबेणी–ठूलोलुम्पेक ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध हुँदा गाउँमा राहतका सामग्री लैजान सकिएको छैन्। यातायातका साधन अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ। स्थानीय बजार पुग्न सकेका छैनन्। पीडितहरुको उद्दारमा तत्कालै चासो नदेखाएमा रोग फैलन सक्ने खतरा बढेको छ। बुधवार हेलिकोप्टरबाट राहत सामग्री गाउँमा लगिएको छ।