एकै खेलमा ३ वटा किर्तिमान बनाए ज्ञानेन्द्र मल्लले - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

एकै खेलमा ३ वटा किर्तिमान बनाए ज्ञानेन्द्र मल्लले



काठमाडौं – सिंगापुरमा जारी आइसिसी टी-२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले मलेसियामाथि ७ विकेटको जित निकाल्दै गर्दा सो खेलका कप्तान ज्ञानेन्द्र मल्लले भने दुई वटा ठूला कीर्तिमान बनाउन सफल भएका छन्।

मलेसियाले ९ ओभरमा ८४ रन बनाउने चुनौती दिएपछि लक्ष्य पछ्याउने क्रममा कप्तानीको भूमिकामा रहेका ज्ञानेन्द्र ओपनिङ ब्याट्सम्यानको रुपमा मैदानमा प्रवेश गरे। टोलीका कप्तान पारस खड्का घाइते भएपछि नेपाली टिमको नेतृत्व गरेका ज्ञानेन्द्रले आक्रमक ब्याटिङ गरेका थिए।

ज्ञानेन्द्रले २० बलमा अर्धशतक प्रहार गर्दै पहिलो कीर्तिमान बनाए। उनी टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि छिटो अर्धशतक बनाउने खेलाडी बने। ५१ रनमा आउट भएका ज्ञानेन्द्रले ५ चौका र ३ छक्का प्रहार गरे।

अर्धशतक बनाए लगत्तै आउट भएका ज्ञानेन्द्रले टी-२० अन्तर्राष्ट्रिय खेलमा पहिलो अर्धशतक प्रहार गरेका हुन्।

यसअघि नेपालका लागि छिटो अर्धशतकको रेकर्ड विनोद भण्डारीको नाममा थियो। विनोदले गत साता मलेसियाविरुद्ध नै २५ बलमा अर्धशतक पूरा गरेका थिए। नटआउट ५१ रन जोडेका विनोदले ३ चौका र ५ छक्का हिर्काएका थिए।

बुधबार मलेसियाविरुद्ध ज्ञानेन्द्रले प्रदीप ऐरीसँग पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरे। यो साझेदारी पहिलो विकेटका लागि नेपालको अहिलेसम्मकै ठूलो साझेदारी हो। र यो पनि आजको खेलमा नेपालको किर्तिमान बनेको छ ।

ज्ञानेन्द्र र प्रदीपले एकदिन अघि बनेको कीर्तिमान तोडेका हुन्। मंगलबार कतारविरुद्धको खेलमा पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए।