नेपालको खराब सुरुवात : कतारसँग पराजित - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

नेपालको खराब सुरुवात : कतारसँग पराजित



काठमाडौं । नेपालले सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा खराब सुरुवात गरेको छ ।

मंगलबार भएको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित हुँदै नेपालले खराब सुरुवात गरेको हो ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।

कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रन बनाए । यस्तै कम्रान खानले २२ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो ।

कतारविरुद्ध उत्कृष्ट सुरुवात गरेपनि नेपालले उच्च स्कोर बनाउन सकेन । पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको कीर्तिमानी साझेदारी गरेपनि नेपालले उच्च स्कोर बनाउन असफल भयो ।

कप्तान पारस र ज्ञानेन्द्रको यो साझेदारी टी-ट्वान्टी अन्तराष्ट्रियमा पहिलो विकेटका लागि नेपालको सर्वाधिक रनको साझेदारी हो । कप्तान पारस २८ रनमा आउट हुँदा ज्ञानेन्द्र २३ रनमा पेभेलियन फर्किए ।

यसअघि पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी सुवास खकुरेल र सागर पुनको नाममा थियो । सन् २०१४ मा सुवास र सागरले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए ।

कप्तान पारस र ज्ञानेन्द्र आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो । तर, मध्ये क्रममा आएका दिपेन्द्र सिंह ऐरीले नेपालका लागि सर्वाधिक ३४ रन जोड्दै इनिङ्स उकासेका थिए ।

यस्तै सोमपाल कामीले ११ सन्दीप लामिछानेले ९ तथा शरद भेषवाकरले ७ रन जोडे ।

कतारका इकबाल हुसेनले ३ विकेट लिए । तमोर साजाद र नुमान सर्वारले २/२ विकेट लिए ।

प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गरिरहेका छन् । फाइनलको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

अब नेपालले दोस्रो खेलमा मलेसियासँग बुधबार खेल्नेछ । त्यस्तै कुवेतसँग शनिबार र नेपालले आइतबार सिंगापुरसँग खेल्नेछ ।