राजा, मदन भण्डारी, प्रचण्ड र बाबुरामलाई बीपीसँग जोडेपछि - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

राजा, मदन भण्डारी, प्रचण्ड र बाबुरामलाई बीपीसँग जोडेपछि



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजाले समयमै बीपीलाई चिनेको भए आज उज्यालो नहुँदै नागार्जुनको जंगलमा ह्विस्की पिएर बस्नुपर्ने अवस्था राजसंस्थाको नआउने टिप्पणी गरेका छन् । बीपी स्मृति दिवसको अवसरमा सोमबार सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको बीपीको विचार र वर्तमान राजनीतिक अवस्था विषयक विचार गोष्ठी तथा सहिद स्मारिका विमोचन कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

शर्माले भने, “बीपीले राजा र मेरो गर्धन जोडिएको छ भन्दा उहाँलाई मृत्युदण्डको माग भयो, तर उहाँले भनेको कुरो अहिले सार्थक भएको छ । राजाले उहाँको भनाइ बुझेको भए अहिले राजसंस्था समाप्त हुने थिएन । मदन भन्डारीले झापा काण्डपछि भनेका थिए–मलाई मन पर्ने खाजा मःम र मन पर्ने नेता बिपी । उनले पहिल्यै बीपीलाई बुझेको भए झापामा थुप्रै कांग्रेसलाई कम्युनिस्टले मार्नु पर्थेन ।”
प्रचन्डले प्रधानमन्त्री हुँदा सुन्दरीजलमा बीपीको कोट सुम्सुम्याएर मेरो प्रेरणाको स्रोत बीपी हो भनेको स्मरण गर्दै शर्माले भने, “प्रचण्डले पहिल्यै बिपीलाई बुझेको भए १७ हजारकोको ज्यान जाने थिएन । थुप्रै कांग्रेसले कात्रो ओढ्नुपर्ने थिएन । विप्लव अहिले जंगलमा छन् । अबको १० वर्षपछि उनले पनि बीपीलाई चिन्नेछन् । उनले पनि भन्नुपर्ने दिन आउने छ, बीपी मेरो प्रेरणा हो ।”

बीपीलाई उहिले राष्ट्रघाति मान्ने कमल थापाले पनि बल्ल बिपीलाई बुझेर अहिले बीपीको सिद्धान्त मानिरहेको शर्माको भनाइ थियो । उनले थपे, “बाबुरामले भने– बीपीलाई राप्रपाले अपहरण गर्यो । यसमा म धेरै टिप्पणी गर्न चाहन्न किनकी ४० वर्ष मार्क्सवाद बोकेर हिँडेका बाबुरामले ४० वर्षपछि त्यो गलत रहेछ भन्ने बुझेका छन् । उनीजस्तो यति धेरै विद्धान मान्छेलाई ४० वर्ष लाग्यो मार्क्सवाद गलत हो भन्ने बुझ्न ।” त्यसो त कांग्रेसले पनि बीपीलाई चिन्न नसकेको उनको स्वीकारोक्ति थियो ।