एक कप कफी बनाएको जरिवाना ९ सय ५० युरो - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

एक कप कफी बनाएको जरिवाना ९ सय ५० युरो



बीबीसी- भेनिसस्थित प्रहरीले रिआल्टो पुलका खुड्किलोमा कफी बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएका दुईजना जर्मन पर्यटकलाई जरिवाना तिराएका छन्।

पिठ्यूँमा झोला भिरेर हिँड्ने ३२ र ३५ वर्षका ती पर्यटकहरूलाई कफी बनाएकोमा साढे नौ सय युरो जरिवाना तिराइएको हो।

सोही कारण उनीहरूलाई शहर छाड्न पनि भनिएको छ।

सार्वजनिक स्थलमा शान्ति सुरक्षासम्बन्धी भेनिसले हालै कैयौँ कानुन ल्याएको छ, जसमा केही स्थानहरूमा भोज गर्ने र एक खालको कमिज लगाउन प्रतिबन्ध लगाइएको लगायत छन्।

कानुन

सो शहरमा प्रत्येक वर्ष तीन करोड पर्यटक पुग्छन्।

बर्लिनका ती पर्यटकहरू रिआल्टो पुलको खुड्किलोमा बसेर कफी बनाइरहेका थिए। त्यसबारे एकजना बटुवाले प्रहरीलाई खबर गरेका थिए।

रिआल्टो पुल द ग्र्याण्ड कानालमाथि भएका चारवटा पुलमध्ये सबैभन्दा पुरानो हो।

भेनिसका नगर प्रमुखले भने, “भेनिसका नियमहरूको पालना गर्नुपर्छ र यहाँ आउने विनम्र नभएकाहरूले यो कुरा बुझ्नुपर्छ। स्थानीय प्रहरीलाई धन्यवाद छ, उनीहरूले कानुन विपरीतका काम गर्न दिने छैनन् र गर्नेलाई हटाउने छन्।”

नियम मिच्नेहरूको पहिचान उनीहरूको देशको दूतावास बताइनेछ।

भेनिसका बासिन्दाले शहरमा ठूलो सङ्ख्यामा पर्यटकहरूको हुने भिडभाडप्रति गुनासो गर्दै आएका छन्।

गत डिसेम्बर महिनामा शहरले छोटो समयका लागि आउने पर्यटकहरूका लागि १० युरो सम्मको प्रवेश शुल्क लगाउने अनुमति पाएको थियो।