सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु



हिमालपोस्ट/काठमाडौँ

(एजेन्सी)

भारतको गुजराँतस्थित महिसागर जिल्लामा सबैलाई आश्चर्यचकित पार्ने एउटा घटना भएको छ। सुन्दा पत्यार नलाग्ने यो घटना भने वास्तविक घटना हो। एकजना व्यक्तिलाई सर्पले डस्यो र उनले सो सर्पलाई दाँतले टोकेर मारिदिए। दु:खद् कुरा – ती व्यक्ति र सर्प दुवैको मृत्यु भयो।

यो गत शनिबार दिउँसोको घटना हो। स्थानीय अजनवा गाउँको एक खेतमा ६० वर्षका पर्वत गाला नामका व्यक्ति काम गरिरहेका थिए। त्यहीबेला त्यहाँ एउटा विषालु सर्प निस्कियो। सर्प देखेर खेतमा भएका अरू मानिस भागे। तर पर्वत गाला बरिया भने भागेनन्। आफूले यसअघि पनि यस्ता धेरै सर्प समाएकाले आफू नडराउने उनले भनिरहेका थिए। उनले सर्प समाते। सर्पले उनको हात तथा अनुहारमा डस्यो। आफूलाई डसेपछि ती व्यक्तिलाई रिस उठ्यो र सर्पलाई आफ्नो दाँतले चपाएर मारिदिए।

सर्प विषालु थियो। विष लागेपछि उनलाई तत्कालै स्थानीय अस्पतालमा लगियो। तर उनको अवस्था नाजुक भएकाले अर्को ठूलो अस्पतालमा रिफर गरियो। त्यतिबेला सम्म उनको शरीरमा सर्पको विष फैलिसकेको थियो र उनलाई अस्पतालले बचाउन सकेन।