स्थानीय सरकारको काममा , छाया सरकारको अनुगमन

विशाल पाण्डेय / सुखड ।
स्थानीय सरकारले गरेका विकास निर्माणको कार्यलाई नेपाली कांग्रेसको छाया सरकारले अनुगमन गर्न शुरु गरेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा निर्माण भएका विभिन्न योजनाहरुको अवस्थाका बारेमा बुझ्न नेपाली कांग्रेसको छायाँ सरकारले अनुगमन सुरु गरेको हो ।
विकास निर्माणको नाममा हुनसक्ने भ्रष्टाचार र अनियमिततालाई रोक्नका लागि विभिन्न योजनाको अनुगमन शुरु गरिएको नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ३ का उप सभापति लक्ष्मण शाहीले बताए ।
अनुगमनका क्रममा निर्माण भएका भौतिक पूर्वाधारमध्ये सडक,पुल लगायतका क्षेत्रमा धेरै अनियमितता देखिएको शाहीले बताए । कुनै योजना निर्माण गर्दा बढी खर्च गरेको र खर्च अनुसारको गुणस्तरीय तथा प्राविधिक स्टिमेट अनुसारको काम नभएको अनुगमनका क्रममा देखिएको शाहीले बताए ।
हालसम्म वडा नं १०,४ र ७ को वडामा अनुगमन गरेको र नगरपालिका अन्तरगत रहेका १२ वटै वडामा भएका सबै योजनाको अनुगमन गर्ने अनुुुगमन समितिका संयोजक रिता चौधरीले बताइन् । अनुगमनका क्रममा कुनै पनि ठाउँमा पारदर्शी नभएको पाइएको चौधरीले बताइन् । उनले भनिन् , ” हामीले विभिन्न ठाउँमा अनुगमन गर्यौ , कुनै पनि ठाँउमा पारदर्शी छैन । वडाका बजेटमा भन्दा नगरको बजेटमा बढी अनियमितता गरेको पाइएको छ ।” नगरमा भएका योजना र अनियमितताका बारेमा जनतालाई जानकारी गराउने उद्देश्यले अनुगमन गर्न शुरु गरिएको चौधरीले जानकारी दिइन् ।

