बाढी, पहिरो पीडितका लागि प्रधानमन्त्री ओलीको यस्तो निर्देशन - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बाढी, पहिरो पीडितका लागि प्रधानमन्त्री ओलीको यस्तो निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितको तत्काल उद्धार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितको तत्काल उद्धार गरी राहत र उपचारमा जुटन प्रधानमन्त्री ओलीले मातहतका सबै निकायलाई निर्देशन दिएको बताए

यसैबीच प्रधानमन्त्री ओलीले अविरल वर्षासँगै आएको बाढीबाट हुन सक्ने क्षति न्यूनीकरण तथा उद्धार गर्न तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् ।

शुक्रबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले सम्भावित जोखिमबाट जोगाउन पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेकोसमेत जानकारी गराए । उनले सर्लाहीस्थित भारतसँगको सीमाक्षेत्रमा डुबानको समस्या समाधान गर्न दुई देशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको जनाए ।

प्रधानमन्त्री ओलीले बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीमा परी ६ जनाले ज्यान गुमाएको, सात जना बेपत्ता तथा ४ सयभन्दा बढी घरमा क्षति पुगेको जानकारी दिए । बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

यसैबीच, मधेसी आयोगले अविरल वर्षाका कारण मधेस क्षेत्रमा भएको डुबान र यसबाट सिर्जित मानवीय संकट समाधान गर्न सरोकारवाला निकायसमक्ष आग्रह गरेको छ ।

आयोगद्वारा शुक्रबार जारी विज्ञप्तिमा स्थानीय समाजसेवी, संघसंस्था, स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन, नेपाल रेडक्रस तथा अन्य सरोकारवालाबीच समन्वय र सहकार्य गरी पीडितको तत्काल उद्धार, राहत र पुनस्र्थापना कार्य प्रभावकारी बनाउन आग्रह गरिएको छ ।