स्थानीय तहमा विप्लवको तालाबन्दी , घोडाघोडीको ताला तोडियो

विशाल पाण्डेय / कैलाली ।
कैलाली । नेत्र बिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाले कैलालीको विभिन्न नगरपालिका तथा वडा कार्यालयहरुमा लगाइएको ताला तोडिएको छ । शनिबार राती कैलालीका अधिकांश स्थानीय तहहरुमा विप्लपले तालाबन्दी गरेको थियो ।
यसै क्रममा घोडाघोडी नगरपालिका कार्यालय तथा नगरका विभिन्न वडाहरुमा लगाइएको ताला तोडिएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ । वडा नं १,३,४,७,८ ,९ लगायतका वडाहरुमा तालाबन्दी गरिएको थियो ।
विप्लव समूहका कार्यकर्ताले रातीको समयमा लेखा फाँटमा शंकास्पद काम गरिरहेको भन्दै शनिबार राती करिब ८:३० बजे लम्कीचुहा नगरपालिकाका कर्मचारीलाई थुनेको थियो । लम्कीचुहा नगरपालिकामा व्यापक आर्थिक अनियमितता भएका समाचार बाहिर आएपछि त्यसको चेतावनीको लागि केहि कर्मचारी लाई थुनिदिएको एक विप्लव नेताले हिमाल पोस्टलाई जानकारी दिए ।
यस्तै धनगढी उपमहानगरपालिकामा १४ वटा वडा कार्यालयहरुमा तालाबन्दी गरिएको छ भने गोदावरी नगरपालिकाको वडा नं ७ र ८ मा शंकास्पद बस्तु फेला परेको छ ।
पार्टीको घोषित नीति अन्तर्गत असार २२ गते सरकारी कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम अनुरुप कैलालीका विभिन्न कार्यालयमा तालाबन्दी गरिएको विप्लवका एक नेताले बताए ।

