सरकारले जनताको भान्सामा यसरी पठाउँदैछ बिषादी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सरकारले जनताको भान्सामा यसरी पठाउँदैछ बिषादी



काठमाडौँ — आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गराउने सरकारी प्रयास विफल भएको छ ।भारतको चर्को दबाबका साथै पर्याप्त प्रयोगशाला नभएका कारण सरकारले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण स्थगन गरेको छ ।

सरकारको यस्तो निर्णयले आयातित तरकारी र फलफूल अब विषादी परीक्षणबिनै नेपालीको भान्सामा पुग्ने भएको छ ।

मन्त्रिपरिषद् बैठकले बिहीबार फलफूल तथा तरकारीमा विषादी परीक्षण नगरीकनै आयात गर्न पाउने निर्णय लिएको कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले बताए ।

वाणिज्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले असारदेखि लागू हुने गरी आयातित फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । यो व्यवस्था राजपत्रमा सूचना प्रकाशित गरी लागू भएको थियो । कृषि मन्त्रालयले विषादी परीक्षणको काम गर्न थालेको थियो । ‘परीक्षण थालेपछि हल्लाखल्ला भयो,’ मन्त्री खनालले शुक्रबार भने, ‘हिजो फेरि वाणिज्यले पूर्वाधार नभएको भन्दै परीक्षण गर्न नसक्ने अर्को प्रस्ताव मन्त्रिपरिषद्मा ल्यायो, सोही प्रस्ताव पारित भयो ।’ प्रयोगशाला र पर्याप्त पूर्वाधार नभई विषादी परीक्षण सुरु गर्दा नाकामा समस्या भएको थियो । धेरै तरकारी आयात हुनबाट रोकिएका थिए । यसमा नेपालस्थित भारतीय दूतावासले समेत सरकारका उच्च अधिकारीहरूसँग आपत्ति जनाएको थियो । उसले पत्राचारै गरेर विरोध गरेको थियो ।

सरकारले असार २ गते राजपत्रमा प्रकाशित गरेर भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण अनिवार्य गरेको थियो । प्रयोगशाला अभावका कारण तरकारी र फलफूल बोकेका गाडी भन्सारमै रोकिएपछि भारतले दबाब दिँदै आएको थियो । सरकारले तयारीबिना कार्यान्वयन गर्दा योजना यस्तो स्थिति आएको हो । ‘विषादी परीक्षण गरेर मात्रै भित्र्याउनु एकदमै उचित कदम थियो । कार्यान्वयन गर्नुपूर्व सबै नाकामा प्रयोगशाला स्थापना गर्नुपर्थ्यो ।

भारतीय दबाबलगत्तै सरकारले आफ्नो निर्णय बदल्नु गलत भएको विज्ञहरूको धारणा छ । सामाजिक सञ्जाल लगायतमा सरकारको यस्तो निर्णयको चर्को बिरोध भैरहेको छ ।

‘भारतले नेपालको अदुवा, अलैंची नलिने समस्या छ । यसमा नेपाल सरकारले न त भारतलाई कुनै दबाब दिन सकेको छ न त कुनै पहल नै गरेको छ  । यस्तोमा सरकारले आफ्नो अडान लिएर भारतीय तरकारीलाई परिक्षण गर्ने निर्णय बदल्न नहुने जानकारले बताउने गरेका छन्  ।

मुलुकभित्रै मागअनुसार उत्पादन नहुँदा तरकारीको ठूलो हिस्सा भारतमै आयात हुने गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार कालीमाटी बजारमा दैनिक करिब ८ सय टन तरकारी भित्रिन्छ । त्यसमध्ये करिब ४४ प्रतिशत भारतको हो । गत आर्थिक वर्षमा भारतबाट ४४.०८ र चीनबाट ०.४३ प्रतिशत तरकारी भित्रिएको थियो । कालीमाटी तरकारी बजारले उपत्यकाको मागको करिब ७५ प्रतिशत पूर्ति गर्छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो १० महिना १२ अर्ब ५७ करोड रुपैयाँको ताजा तरकारी आयात भएको छ ।