नेपालमा शासक नै ठिक भएनन् : प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

नेपालमा शासक नै ठिक भएनन् : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रम शक्तिको समुचित उपयोग हुने गरीको नीति र कार्ययोजना आवश्यक रहेको बताएका छन् ।

पोखरा विश्वविद्यालयको २० औं साधारण सभालाई मंगलबार बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा विश्वविद्यालयहरुले योजना बनाउन सक्ने उल्लेख गरेका छन् ।

‘हाम्रोमा देश विकास गर्ने जनशक्ति छ तर बाहिर गइरहेको छ । देशमा काम पाएको छैन । पायो भने सीप र क्षमता छैन’ प्रधानमन्त्री ओलीले भने ‘त्यसकारण हामीसँग भएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षा दिने भन्ने योजना विश्वविद्यालयले बनाएर त्यहींबाट कार्यन्वयन सुरु गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले नेपाल विद्वान पूर्खाको देश भएको बताएका छन् । पौराणिक कालका ऋषीमुनीहरुले यही भूमीबाट ज्ञान प्राप्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने ‘शासकहरुमा दृष्टिकोण ठिक नभएकोले नेपाल पछी परेको हो तर अब यो अवस्था लामो समय रहदैन ।’

प्रधानमन्त्री ओलीले देशको आवश्यकता र शिक्षाको तादम्यता नमिल्दा ठुलो ठुलो योग्यता हासिल गरेका मानिसहरु पनि बरोजगार बन्नुपरेको बताएका छन् । ‘कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनि जान पाउदैनन्’ प्रधानमन्त्री ओलीले भने ‘यस्तो अवस्थामा उसको समय, स्रोत सबै खेर जान्छ । त्यसकारण रोजगारीका अवसर कहाँ छन् भनेर पहिचान गरेर मात्र शिक्षामा लगानी गर्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले त्यस ठाउँको आवश्यकता, रोजगारीको अवसर आदि कुराको बिष्लेषण गरेर मात्र विश्वविद्यालयहरुले नयाँ शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिनुपर्ने बताएका छन् । ‘विश्वविद्यालयहरुले जथाभावी सम्बन्धन दिने काम बन्द गर्नुहोस’ प्रधानमन्त्री ओलीले भनेका छन् ।