३३ किलो सुन काण्डमा मुछिएका न्यायाधिश बर्खास्त
काठमाडौँ –
बहुचर्चित ३३ किलो सुन तस्करी र सोही घटनामा जोडिएको सनम शाक्य हत्या काण्डहरूको मुद्दामा चलखेल गर्ने एक न्यायधीश बर्खास्त गरिएको छ।
सोही घटनामा मुछिएका अन्य दुई न्यायाधीशलाई भने दुई वर्ष बढुवा रोक्का गरिएको छ र तीनलाई ध्यानाकर्षण गराइएको छ। दुई न्यायाधीशले अवकाश पाइसकेकाले तीनलाई सफाई दिइएको जानकारी प्राप्त भएको छ।
न्यायपरिषद्को सोमबारको निर्णय अनुसार विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंह आफ्नो पदबाट बर्खास्त भएका हुन्।
यसअघि उक्त घटनामा चलखेल गरेको भन्दै आठजना न्यायाधीशहरू निलम्बनमा परेका थिए। यस काण्डमा मुछिएकाहरूलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि धरौटी मागेको र थुनामा पठाएका अभियुक्तहरूलाई उच्च अदालतका यी न्यायाधीशहरूले धमाधम धरौटी लिँदै तारेखमा छोडेपछि यो विषय अनुसन्धानको दायरामा आएको थियो।
परिषद्ले घटनामा संलग्नहरू उच्च अदालतका न्यायाधीशहरूलाई निलम्बन गर्दै ६ महिना लगाएर अनुसन्धान गरेको थियो।
न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, केदार प्रसाद चालिसे र मिरा खड्काको समितिले गरेको छानबिन प्रतिवेदनका आधारमा नै न्यायपरिषद्ले मुख्य न्यायाधीश कुलरत्न भुर्तेल, जनक पाण्डे र सारङ्गा सुवेदीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।
न्यायाधीश साधुराम सापकोटा र थीरबहादुर कार्कीलाई भने २ वर्ष बढुवा रोक्का गर्ने निर्णय न्यायपरिषद्ले गरेको छ। यी दुईलाई गम्भीर रूपमा सचेत गराउने पनि परिषद्ले निर्णय गरेको छ।
यही मुद्दामा सुनुवाइ गरेका तर अनुसन्धानको बीचैमा अवकाश पाएका विराटनगर उच्च अदालतकै न्यायाधीश उमेश पौड्याल र नागेन्द्रलाल कर्णलाई भने परिषद्ले सफाइ दिएको बताइएको छ।