जीवन उपयोगी शिक्षामा जोड दिनुपर्छ : मन्त्री पोखरेल

विशाल पाण्डेय / सुखड ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले
जीवन उपयोगी शिक्षा जोड दिनुपर्ने बताएका छन् । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा शनिबार भएको प्रदेश स्तरीय विशेष आवासीय शिक्षा विद्यालयको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले समय अनुसारको शिक्षा हुनुपर्ने भएकोले अब सैद्धान्तिक शिक्षाभन्दा जीवन उपयोगी तथा प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताएका हुन् ।
मन्त्री पोखरेलले शिक्षा पुर्वाधारको नि पुर्वाधार रहेको बताए । उनले देश कता जान्छ ? भन्ने कुरा शिक्षा कस्तो छ भन्ने कुराले नै निर्धारण गर्ने हुँदा अहिलेको अवस्थामा बालबालिकाहरुलाई जीवन उपयोगी शिक्षा, उत्पादनमा आधारित शिक्षा र श्रममा आधारित शिक्षाको आवश्यक रहेको बताए । आर्थिक ,भौगोलिक ,सांस्कृतिक र फरक क्षमताको कारणले अहिले पनि बालबालिकाहरु बिद्यालय जान नसकेको बताउदै मन्त्री पोखरेलले अपांगता भएका ब्यक्तीहरुको शिक्षामा पहुच पुर्याउने उदेश्यले सरकारले प्रत्येक प्रदेशमा एउटा बिशेष आवासीय विद्यालयका स्थापन गर्ने निर्णय संघिय सरकारको मन्त्री परिषदले गरेको बताए ।
विगतका दिनमा साधारण शिक्षामा मात्र जोड दिएको हुँदा सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक नरहेको मन्त्री पोखरेलले बताए । अहिले सरकार प्रमुख रूपमा सामुदायिक विद्यालयको सुधारमा अघि बढिरहेको छ । उनले भने, “अब अब सैद्धान्तिक शिक्षाभन्दा व्यवहारिक शिक्षामा जोड दिएर सामुदायिक विद्यालयको नतिजा सुधारेर लैजान्छौ ।” सरकारले संघिय शिक्षा नीति तयार पारेको समेत मन्त्री पोखरेलले जानकारी दिए । उनले थपे , “संघिय शिक्षा नितिको मन्त्री परिषदमा गएर सामाजिक समितिमा छलफल चलेको र सामाजिक समितिले टुंगो लगाएर मन्त्री परिषदमा आउने हुँदा तिन वटै तहका सरकारले काम गर्ने बारेमा स्पष्ट हुन उक्त नीति तयार पारेको छ ।”
मन्त्री पोखरेलले युनेस्कोको मान्यता अनुसार ९५ प्रतिशत साक्षर भएमा साक्षर देश घोषणा गर्न सकिने कुरा स्मरण गराउदै नेपालमा ८० प्रतिशत साक्षर भईसकेकाले यही वर्ष भित्र साक्षर देश घोषणा गर्न तयारी गरेको बताए । साथै हाल सम्म ५० जिल्ला र १ सय २६ स्थानीय तहले साक्षरता घोषणा गरीसकेको जानकारी दिदै मन्त्री पोखरेलले शिक्षाको गुणस्तर सुधार गर्ने प्रमुख दायित्व विद्यालय परिवारको हुने भएकाले विद्यार्थी, शिक्षक, ब्यवस्थापन र अविभावकले आपसमा छलफल तथा अन्तरक्रिया गरी सुमधुर सम्बन्ध बनाउदै शिक्षामा शुसासन कायम गर्न समेत मन्त्री पोखरेलले आग्रह गरे । शिक्षा कस्तो छ भन्नु पुर्व शिक्षक कस्तो छ भन्ने कुराले महत्व राख्ने भएकाले सम्पुर्ण शिक्षकहरु राख्दा गोजिको आधारमा नभई शिक्षा आयोगमा पास भएका हरुलाई मात्र राख्नुपर्ने बताए । बहु वर्षिय योजना अन्तरगत निर्माण सुरु गरिएको आवासीय बिद्यालयका लागि प्रारम्भमा १ करोड रकम बिनियोजन गरेको मन्त्री पोखरेलले जानकारी दिए ।
त्यस्तै घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले प्रदेश स्तरीय विशेष आवासीय शिक्षा विद्यालय आफ्नो नगरमा बन्ने भन्दै खुशी ब्यक्त गरे । शिक्षामा सुधार हुँदै गइरहेको अवस्थामा आवासिय बिद्यालय निर्माण हुँदा झनै शैक्षिक नगरिका रुपमा स्थापित गर्न उक्त विद्यालयले मद्दत पुर्याउने समेत नगर प्रमुख चौधरीले बताए । सभ्यताको निर्माणका लागि शिक्षा नै महत्त्वपूर्ण रहेको बताउदै नगर प्रमुख चौधरीले विशेष आवासीय शिक्षा विद्यालयलाई नगरपालिकाबाट समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।
राट्रिय माध्यामिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र अर्यालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिती कैलालीका सभापति सुर्य बहादुर थापा, सुदुरपश्चिम प्रदेशका संसद रतन थापा, घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी , लालझाडी गाउपालिकाका अध्यक्ष मदनसेन बडायक लगायतकाको सहभागिता रहेको थियो ।
राष्ट्रिय मा बि सुखडका प्र अ राम छबिल्ला चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन घोडाघोडी नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत खगेन्द्र बहादुर सिंहले गरेका थिए । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलद्बारा वृक्षारोपण समेत गरिएको थियो ।

