डोल्पामा कार्यालय प्रमुख र कर्मचारीबीच कुटाकुट - ७ थुनामा - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

डोल्पामा कार्यालय प्रमुख र कर्मचारीबीच कुटाकुट – ७ थुनामा



डोल्पा –

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगार्डका निमित्त संरक्षण अधिकृत र अन्य कर्मचारीबीच कुटाकुट हुँदा सात कर्मचारी पक्राउ परेका छन् र तिनीहरूलाई हाल थुनामा राखिएको छ।

पोस्टबाट कार्यालयमा फर्किएका कर्मचारीले यार्सागुम्बा सङ्कलनको राजश्व जम्मा गर्ने विषयमा निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादव र कर्मचारीबीच ८ गते विवाद भएपछि हातहालाहालको भएको थियो।

पोस्टबाट आएका कर्मचारीले  सङ्कलित रकम सोझै बैँकमा जम्मा गर्न अनुमति मागेको तर प्रमुख यादवले हिसाब गरिसकेपछि मात्रै जम्मा गर्न भनेपछि विवाद बढेको थियो।

पोस्टको टोलीले करिब ७० लाख राजश्व बैङ्कमा जम्मा गरेको थियो। यही विषयलाई लिएर साँझ मदिरा सेवन गरेर निमित्त संरक्षण अधिकृत यादव, सहायक संरक्षण अधिकृत गोपाल खनाल र रेन्जर छत्र खड्गामाथि आक्रमण गरेको थियो।

झगडा गर्नेहरू खरिदार देवेन्द्र जिसी, मनिकृष्ण पाण्डे, हरि रावल, डिल्ली सुनार, महेश्वर रावल, खगेन्द्र भण्डारी र प्रकाश बुढा पाँच दिनदेखि थुनामा रहेका छन्। थुनामा रहेकाहरूले भने आफूहरूले हातपात नगरेको तर यार्सा सङ्कलनबाट राजश्व लिँदाको दुःख जानकारी गराउँदै गर्दा उल्टै हातपात भएको बताउँछन्।

कर्मचारीहरूको छाता संगठनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीले डोल्पा पुगेर तत्काल रिहा गर्न माग गर्दै ज्ञापनपत्र पेश गरेता पनि, लगत्तै छाड्ने भनेको तर पाँच दिनसम्म पनि कर्मचारीहरू थुनामै रहेका छन्।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले भने घटना घटेको एक साता बित्न लाग्दा समेत केही भनेको छैन।