कुटपिटको आरोपमा आजबाट भोजपुरमा अनिश्चितकालीन यातायात बन्द - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

कुटपिटको आरोपमा आजबाट भोजपुरमा अनिश्चितकालीन यातायात बन्द



भोजपुर, पुस ११ गते । यात्रुबाहक बसका सञ्चालकलाई कुटपिट गरेको आरोप लगाउदैँ आजबाट भोजपुरमा अनिश्चितकालीन यातायात बन्द गरिएको छ । संयुक्त बस व्यवसायी सङ्घ भोजपुर, सगरमाथा ट्याक्सी व्यवसायी सङ्घ, ट्र्याक्टर सङ्घ, नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्गठनलगायतले प्रेस विज्ञप्ति जारी गर्दै बन्द गरेका हुन् ।

शनिबार धरानबाट भोजपुर आउँदै गरेको ना ४ ख ७३१७ नं को यात्रुबाहक बसका सञ्चालक पर्वत तामाङलाई बिना कारण तिवारी भन्जाङ गाविसका गौतम राईसहितको १५ जनाको टोलीले मरनासन्न कुटेपछि कुटपिट गर्नेलाई पक्राउ गरी भोजपुर जिल्ला प्रहरी कार्यलयमा ल्याए पनि उल्टै प्रहरी प्रशासनबाट पीडकलाई प्रश्रय दिने काम भएकाले आफूहरुले विरोध स्वरुप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको संयुक्त बस व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले बताउनु भयो ।

घटनामा संलग्नलाई कानुनी कारबाही नगरिएसम्म बन्द फिर्ता नगर्ने बताइएको छ ।

यसैबीच आइतबार अपराह्नदेखि भोजपुर सदरमुकाममा बस, ट्याक्सी र ट्र्याक्टरले सडक जाम गरेपछि मोटरसाइकल तथा पैदलयात्रीलाई हिँडडुलमासमेत समस्या परेको छ । रासस