घोडाघोडीका गाउँगाउँमा फ्री वाईफाई ,५ बर्ष भित्र १५ शैयाको अस्पताल

‘जनताका गुनासाहरु सुन्नको लागि “जनतासंग मेयर” कार्यक्रम गरिने’
विशाल पाण्डेय / कैलाली ।
घोडाघोडी नगरपालिकाले सातौं नगरसभा तथा आगामी आर्थिक बर्ष २०७६ / ०७७ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले मंगलबार शुरु भएको सातौं नगर सभा तथा बजेट अधिवेशनमा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख चौधरीले नगर यातायात गुरुयोजना तयार भएको हुँदा आगामी आर्थिक बर्षबाट नगर यातायात गुरुयोजना लागू गरिने बताए । नगर क्षेत्रमा सडक संजाल बिस्तार गर्दै सडक कालो पत्रे कार्यलाई उच्च प्राथमिकतामा राखिने , शहरी विकास गर्दै लगिने ,नगरलाई स्मार्ट सिटि बनाउन आवश्यक कार्यक्रमहरु गरिने नगरपालिकाको नीति तथा कार्यक्रम रहेको नगर प्रमुख चौधरीले बताए ।
युवाहरूलाई कृषि तर्फ आकर्षित गर्न युवा लक्षित कार्यक्रम गर्ने, घोडाघोडी तालक्षेत्रलाई प्रमुख पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने , नगर भित्र रहेका साना तथा मझौला उद्योगलाई उत्पादन मुलुक र रोजगार मुलक बनाउने , शैक्षिक विकासकालागि नगर शिक्षा योजना निर्माण गर्ने नीति तथा कार्यक्रम घोडाघोडी नगरपालिकाको योजना रहेको छ ।
यसैगरी नगरपालिकामा जनताका कुराहरु सुन्नको लागि “जनता संग नगर प्रमुख” कार्यक्रम संचालन गरिने ,अपांग मैत्री नगरपालिकाका लागि अडियो नोटिस तथा साइन बोर्डको प्रयोग गरिने , उपयुक्त ठाउँ स्थल छनोट गरि बसपार्क निर्माण गरिने , घोडाघोडी मन्दिरको दिगो व्यवस्थापन गरिने , नगरपालिकालाई यसै बर्ष भित्र साक्षर घोषणा गर्ने ,एम्बुलेन्स सेवा उपलब्ध गराइने , आगामी ५ बर्ष भित्र यस नगरपालिकामा १५ सैया क्षमताको अस्पताल सेवा उपलब्ध गराउने, गर्भवती महिलालाई स्वास्थ केन्द्र सम्म लैजान निशुल्क यातायातको व्यवस्था मिलाउने, नगरका मुख्य बजार र वडाका प्रमुख व्यापारीक चोकहरुमा फ्री वाइफाइ बिस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसै बिच नगर सभामा घोडाघोडी नगरपालिकाकि उप प्रमुख प्रेम कुमारी थापाले आगामी आर्थिक बर्ष २०७६ / ०७७ को ७४ करोड ५९ लाख ६ हजार बराबरको बजेट सार्वजनिक गरेकी थिइन् ।
समानिकरण राजश्व बाडफाड तर्फको कुल जम्मा बजेट ४८ करोड २७ लाख ६ हजार र शसत तर्फको जम्मा २६ करोड ३२ लाख गरी कुल ७४ करोड ५९ लाख ६ हजार रुपैयाँको रकम विनियोजन गरिएको उप प्रमुख थापाले सभामा जानकारी गराइन ।
घोडाघोडी नगरपालिकाको आय स्रोतमा आन्तरिक आय ४ करोड ७८ लाख ५ हजार रुपैयाँ रहेको छ । यसैगरी, राजस्व बाँडफाँड १७ करोड ६२ लाख ८६ हजार रुपैयाँ , वित्तीय समानीकरण अनुदान अन्तरगत संघीय सरकारबाट १९ करोड ५ लाख र प्रदेश सरकारबाट ८१ लाख १५ हजार गरि १९ करोड ८६ लाख १५ हजार रुपैयाँ , शसर्त अनुदान २६ करोड ३२ लाख रुपैयाँ रहेको छ भने गत बर्षको नगद मौज्दात ६ करोड रुपैयाँ पनि आयको स्रोत रहेको उपप्रमुख थापाले जानकारी दिइन् ।
कार्यक्रममा कैलाली क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद गौरीशंकर चौधरीले विशेष सम्बोधन गरेका थिए भने घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले घोडाघोडी नगरपालिकाको आर्थिक विधेयकको बारेमा जानकारी दिएका थिए ।

