घोडाघोडीको बजेट , नीति तथा कार्यक्रम सार्वजनिक

‘७४ करोड ५९ लाखको बजेट प्रस्तुत’
विशाल पाण्डेय / कैलाली ।
घोडाघोडी नगरपालिकाले सातौं नगरसभा तथा आगामी आर्थिक बर्ष २०७६/ ०७७ को नीति तथा कार्यक्रम सहित ७४ करोड ५९ लाखको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक बर्ष २०७६/०७७ का लागी ७४ करोड ५९ लाख ६ हजार ५ सय ५३ रुपैयाँ बराबरको बजेट नगर सभामा नगर उप-प्रमुख प्रेम कुमारी थापाले मंगलबार प्रस्तुत गरेकी हुन् ।
घोडाघोडी नगरपालिकामा ६ वटा शिर्षकमा बजेट विवरण गरिएको छ जस अन्तरगत पुर्वधार बिकासमा सबै भन्दा बढी ५०.७०.प्रतिशत बजेट विनियोजन गरिएको छ भने सबै भन्दा कम वन वातावरण तथा विपत व्यवस्थापन विकासमा ०.६२ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
आर्थिक बर्ष २०७६/०७७ को बार्षिक बजेट विवरण गर्दा आर्थिक विकासमा ३ करोड ८० लाख (७.८७%), सामाजिक विकासमा ८ करोड ७२ लाख(१८.१%), पुर्वाधार विकासमा २४ करोड ४७ लाख ५५ हजार (५०.७०%), वन वातावरण तथा विपत व्यवस्थापन विकासमा ३० लाख (०.६२%) , कोषहरु ७८ लाख ७८ हजार (१.३६%) र चालू १० करोड १८ लाख ७३ हजार बजेट सहितको नीति तथा कार्यक्रमका बारेमा थापाले जानकारी दिइन ।
त्यस्तै समानिकरण राजश्व बाडफाड तर्फको कुल जम्मा बजेट ४८ करोड २७ लाख ६ हजार र शसत तर्फको जम्मा २६ करोड ३२ लाख गरी कुल ७४ करोड ५९ लाख ६ हजार रुपैयाँको रकम विनियोजन गरिएको छ ।
घोडाघोडी नगरपालिकाको आय स्रोतमा आन्तरिक आय ४ करोड ७८ लाख ५ हजार रुपैयाँ रहेको छ । यसैगरी, राजस्व बाँडफाँड १७ करोड ६२ लाख ८६ हजार रुपैयाँ , वित्तीय समानीकरण अनुदान अन्तरगत संघीय सरकारबाट १९ करोड ५ लाख र प्रदेश सरकारबाट ८१ लाख १५ हजार गरि १९ करोड ८६ लाख १५ हजार रुपैयाँ , शसर्त अनुदान २६ करोड ३२ लाख रुपैयाँ रहेको छ भने गत बर्षको नगद मौज्दात ६ करोड रुपैयाँ पनि आयको स्रोत रहेको उपप्रमुख थापाले जानकारी दिइन् ।
नगर यातायात गुरुयोजना तयार भएको हुँदा आगामी आर्थिक बर्षबाट नगर यातायात गुरुयोजना लागू गरिने , नगर क्षेत्रमा सडक संजाल बिस्तार गर्दै सडक कालो पत्रे कार्यलाई उच्च प्राथमिकतामा राखिने , शहरी विकास गर्दै लगिने ,नगरलाई स्मार्ट सिटि बनाउन आवश्यक कार्यक्रमहरु गरिने ,युवाहरूलाई कृषि तर्फ आकर्षित गर्न युवा लक्षित कार्यक्रम गर्ने, घोडाघोडी तालक्षेत्रलाई प्रमुख पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने , नगर भित्र रहेका साना तथा मझौला उद्योगलाई उत्पादन मुलुक र रोजगार मुलक बनाउने , शैक्षिक विकासकालागि नगर शिक्षा योजना निर्माण गर्ने नीति तथा कार्यक्रम घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी प्रस्तुत गरेका छन् ।
यसैगरी नगरपालिकामा जनताका कुराहरु सुन्नको लागि “जनता संग नगर प्रमुख” कार्यक्रम संचालन गरिने ,अपांग मैत्री नगरपालिकाका लागि अडियो नोटिस तथा साइन बोर्डको प्रयोग गरिने , उपयुक्त ठाउँ स्थल छनोट गरि बसपार्क निर्माण गरिने , घोडाघोडी मन्दिरको दिगो व्यवस्थापन गरिने , नगरपालिकालाई यसै बर्ष भित्र साक्षर घोषणा गर्ने ,एम्बुलेन्स सेवा उपलब्ध गराइने , आगामी ५ बर्ष भित्र यस नगरपालिकामा १५ सैया क्षमताको अस्पताल सेवा उपलब्ध गराउने, गर्भवती महिलालाई स्वास्थ केन्द्र सम्म लैजान निशुल्क यातायातको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कैलाली क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद गौरीशंकर चौधरी प्रमुख अथिती रहेका थिए । नगर सभामा घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले घोडाघोडी नगरपालिकाको आर्थिक विधेयकको बारेमा जानकारी दिएका थिए ।

