शान्ति पत्रकारिता सम्बन्धी दुई दिने तालिम टिकापुरमा सुरु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

शान्ति पत्रकारिता सम्बन्धी दुई दिने तालिम टिकापुरमा सुरु



कैलाली । कैलालीको टीकापुरमा दुई दिने शान्ति पत्रकारिता सम्बन्धी तालिम सुरु भएको छ । सञ्चारिका सुदूरपश्चिमाञ्चल समूहको आयोजनामा आजदेखी उक्त तालिम सुरु भएको हो ।

सञ्चारिका सुदूरपश्चिमाञ्चल समूहकि अध्यक्ष दुर्गा देवकोटाको सभापतित्वमा सुरु भएको तालिममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलले प्रमुख अथिती रहेका थिए ।

तालिमको उद्घाटन गर्दै महासचिव रावलले शान्ति स्थापनामा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताए । रावलले पत्रकारितालाई व्यवशायिक र मर्यादित बनाउन पत्रकारहरु संयम बन्नुपर्नेमा जोड दिए । उनले २०७२ भदौ ७ गतेको टीकापुर घटना पछि उत्पन्न परिस्थितिलाई सहज बनाउन टीकापुरका पत्रकारहरुले खेलेको भूमिका उदाहरणीय रहेको बताए ।

तालिमका विशिष्ट अतिथि अग्रज पत्रकार मनमोहन स्वाँरले पत्रकार जिम्मेवार ढंगले प्रस्तुत भए शान्ति स्थापनामा सहज हुने बताए । उनले विगतको द्वन्द्वकालिन अवस्थामा नेपाली पत्रकारहरुले कुशल भूमिका निर्वाह गरेर संयमताको उदाहरण पेश गरेको बताए ।

बाल कल्याण संघको सहयोगमा सञ्चालन भएको तालिमलाई अग्रज पत्रकार स्वाँरले सहजिकरण गरिरहेका छन । तालिममा टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका १५ जना पत्रकारहरुको सहभागिता रहेको छ ।