सरकार र नेतृत्व परिवर्तन हुँदैन, पाँच वर्ष चल्छ : ईश्वर पोखरेल - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

सरकार र नेतृत्व परिवर्तन हुँदैन, पाँच वर्ष चल्छ : ईश्वर पोखरेल



भक्तपुर– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार पाँच वर्षसम्म फेरबदल नहुने बताएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको पाँचौं नगरसभाको शुभारम्भ गर्दै पोखरेलले केपी ओली नेतृत्वको सरकार ५ बर्षसम्म काम गर्ने बताए । उनले भने, ‘यो सरकार विधिसम्वत ढङ्गले बनेको छ, सरकार ढल्छ भन्ने हल्ला अस्थिरता सिर्जना गर्न फैलाइएको हो ।’

नेकपा नेतृत्वको वर्तमान सरकारले जनताको विश्वासको बलमा पाँच वर्षसम्म योग्यतापूर्वक काम गर्ने समेत रक्षा मन्त्री पोखरेलको भनाई छ ।

‘पाँच वर्षसम्म टिक्ने सरकार भएकाले कुनै शंका गर्नु पर्ने ठाउँ छैन’, मन्त्री पोखरेलले भने ।

रक्षा मन्त्री पोखरेलले विकास गर्ने क्रममा यो पार्टी र त्यो पार्टी नभनी सबै एक जुट हुनुपर्ने भन्दै निर्वाचनमा पराजित भएकालाई समेत समेटेर लानु पर्ने बताए ।

‘दलिय द्धन्द्धको धङधङीबाट लिप्त भएकाहरुले मात्र विकासको विरोध गर्दछन्’ मन्त्री पोखरेलको भनाई छ । उनले सुखी नेपाली सम्वृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्न कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासमा केन्द्रित भएर सरकारले काम गरिरहेको समेत दावी गरे ।

उनले हिजो उद्योग धन्दा बेच्नेहरुले नै आज सडक र सदनमा ठुला कुरा गर्न थालेको आरोप लगाए ।